इजरायलमा नर्सिङ क्षेत्रमा नेपालीलाई पुनः रोजगारीको अवसर, पहिलो वर्ष ५ सय केयरगिभर लैजाने

डिसी नेपाल
१४ साउन २०७७ ११:०६

काठमाडौँ। इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीहरुलाई रोजगारीको लागि बाटो खुला गरेको छ। लामो समयदेखि बन्द रहेको यो क्षेत्र पुनः सुचारु हुने भएको तेलअबिबस्थित नेपाली दूतावासले जनाएको छ।

नेपालीहरुको इमान्दारिता र कामप्रतिको लगनशीलताबाट प्रभावित भएका इजरायलीहरु पुनः नेपाली कामदार लैजान सकरात्मक भएको दूतावासको भनाइ छ । इजरायल नेपालीको रोजाइमा पर्ने एक आकर्षक गन्तव्य मुलुकमा रुपमा पर्छ ।

यसअघि नेपालबाट यो क्षेत्रमा काम गर्न थुप्रै नेपाली इजरायल पुगेका थिए । तर, विगतमा नेपाली पक्षले गरेको केही गल्तीका कारण नेपालको शाख गिरेको थियो । जसले गर्दा लामो समयदेखि नेपालीहरु नर्सिङ क्षेत्रमा कामको लागि इजरायल जान पाएका थिएनन् ।

निरन्तर पहलपछि इजरायली पक्षलाई सकारात्मक बनाउँदै नेपालबाट केयरगिभर लैजाने प्रक्रियालाई पुनः सुचारु गर्न सफल भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार अहिले सरकारी स्तरमा एक सम्झौता गरि नेपालबाट इजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा केयर गिभिर लैजाने प्रक्रिया खुलेको हो। सम्झौता अनुसार पहिलो वर्ष करिव ५ सय नर्सिङ क्षेत्रका नेपालीहरुलाई इजरायल लगिनेछ। यो प्रक्रिया आगामी वर्ष पनि निरन्तर चलिरहने दूतावासको भनाइ छ। तर, नेपाली श्रमिक कसरी इजरायल जाने भन्ने प्रक्रियाबारे भने केही खुलाइएको छैन।

यस विषयमा मंगलबार इजरायली र नेपाली पक्षबीचमा उच्चस्तरीय भर्चुअल बैठक भएको थियो। बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्रालयका सहसचिब हरिषचन्द्र घिमिरेले गरेका थिए। टोलीमा इजरायलका लागि नेपाली राजदूत अन्जना शाक्य, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका अधिकारी सहभागी थिए। इजरायली टोलीको नेतृत्व इजरायली कन्सुलर अफयर्स डिभिजनका प्रमुख स्टेला र्यापले गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *