सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत, ‘कन्ट्याक्ट ट्रेसिङ’मा जोड

डिसी नेपाल
११ भदौ २०७७ ६:४८

काठमाडौँ। काठमाडौँ उपत्यकामा मङ्गलबारसम्ममा कोभिड–१९ का कुल सङ्क्रमित तीन हजार ७०२ पुगेको छ। जसमध्ये काठमाडौँमा दुई हजार ९५५, ललितपुरमा ४६३ र भक्तपुरका तीन सय जना छन्। पछिल्लो १५ दिनमा काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या तीन गुणाले वृद्धि भएको छ। जसमध्ये अधिकांशमा सङ्क्रमण सक्रिय अवस्थामा छन्।

जनस्वास्थ्यविद्हरू सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत देखिन थालेकोले ‘कन्ट्याक्ट ट्रेसिङ’लाई प्रभावकारी नबनाइए अवस्था भयावह हुने बताउँछन् । सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बासुदेव पाण्डेले सूक्ष्म व्यवस्थापन गरेर ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न लागिएको बताउँछन्।

उपत्यकामा दैनिक दुई सयभन्दा बढी सङ्क्रमित थपिँदैछन् । एकजना सङ्क्रमितले नेपालमै १२० जनासम्मलाई सङ्क्रमण सारेको उदाहरण छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक सङ्क्रमितले औसतमा १२ जनालाई सङ्क्रमित बनाएका छन् ।

यसरी दुई सय सङ्क्रमित थपिँदा कम्तीमा दैनिक छ सय जना क्वारेन्टिनमा बसेर स्वाब परीक्षण गराउनुपर्ने आवश्यक देखिन्छ । तर सङ्क्रमितको सम्पर्कमा आउने सम्भावित व्यक्ति क्वारेन्टिनमा बस्ने कता हो कता लुकेर बस्दा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण भुसको आगो सरह फैलने जोखिम बढेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोल बताउँछन्।

जनस्वास्थ्यविद् डा. शरद् वन्त भन्छन्, “लकडाउन कोभिड–१९ विरुद्ध लड्ने मौका थियो, धेरै तयारी गर्नुपर्ने थियो, तयारी गर्न नसक्नुको असर बिस्तारै देखिँदैछ।” लकडाउन खुल्नुअघि विदेशबाट आएर क्वारेन्टिन र आइसोलेसनमा बस्ने अधिकांशमा सङ्क्रमण पाइएको थियो। तर अहिले अवस्था फेरिएको छ।

“तेस्रो चरणको सङ्केत देखिन थालेको छ।” जनस्वास्थ्यविद् डा. वन्तले भने, “स्रोत समुदाय हुन गएकोले रणनीति त्यसै बमोजिम बनाइनुपर्छ र प्रभावकारी कार्यान्वयन गरिनुपर्छ।” समुदायमा सङ्क्रमण गएको लक्षण देखिएकोले कन्ट्याक्ट ट्रेसिङ युद्धस्तरमा गर्नुपर्ने उनको सुझाव छ।

सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले काठमाडौँ उपत्यकामा नौ हजार जना सङ्क्रमितको सम्पर्कमा आएका ट्रेस भएको जानकारी दिए। जसको एक तिहाइ मात्रै पहिचान भएको र थोरै मात्रै क्वारेन्टिनमा बसेको महानगरपालिकाका प्रवक्ता डङ्गोल बताउँछन्।

काठमाडौँ उपत्यकाको तीन जिल्लामा १८ वटा स्थानीय तह छन्। मन्त्रालयको निर्देशिका बमोजिम महानगरले पाँच र उपमहानगरले तीन र नगरले दुई वटा टोली कन्टयाक्ट ट्रेसिङको लागि खटाएको छ।

५० लाख जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा एक सय जनाको टोली खटाएर सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गरी कोभिड–१९ नियन्त्रणमा लिन नसकिने डा. वन्त तर्क गर्छन् ।

यो समाचार आजको गोरखापत्रले छापेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.