६६ वर्षीया दमकी रोगी भन्छिन्–हौसलाले कोरोना पराजित गरेँ

डिसी नेपाल
२२ भदौ २०७७ ७:००
12
Shares

उमेरले ६६ वर्ष भएँ। विगत ८ वर्षदेखि दमको विमारी पनि हुँ। विगत ८ महिनादेखि मलाइ घरमै अक्सिजन लगाएर राखिएको छ। त्यसैपनि दमको विमारीलाई स्वास प्रस्वासमा समस्या हुन्छ। त्यो सबैलाई जानकारी भएकै कुरा हो। दमका कारण म लामै समयदेखि विस्तरामै थिएँ।

आफू विस्तरामै हुँदा घरमा सबैलाई कोरोना संक्रमण भएको थाहा भयो। छोरी र एक छोरा काठमाडौंमा थिए। एक बुहारी नेपालगञ्ज छिन्। घरमा भएको छोरा बुहारी र मेरो श्रीमानलाई पनि कोरोना लाग्यो भन्ने कुरा सुन्दा एकदमै आत्तिएँ। मलाइ प्रेसर नै बढ्न थाले छ। अस्पताल भर्ना हुनु पर्यो। काठमाडौंबाट छोरी घरमा पुगिन् अलिकति हौसला पाएँ।

घरमा भएको छोरालाई कोरोना लागेको ४÷५ दिनपछि बुहारी र श्रीमानमा कोरोना भएको थाहा भयो। त्यसको केहीदिनपछि मलाइ र नातिनीलाई पनि कोरोना छ भन्ने थाहा भयो। परिवारका सबैमा कोरोना भएपछि कस्तो भयो होला तपाईँ पनि बुझ्ने हुनुहुन्छ। त्यै पनि मैले आफैलाई सम्हालेँ। छोरा बुहारी नातिनी र बुढालाई सम्झेँ भने त मन पनि दुख्थ्यो। त्यस्तो बेलामा आफैले आफैलाई सम्झाउँथेँ।

हाम्रो नजिकै घर भएका केही छिमेकीहरु पनि कोरोना लागेर निको भए भन्ने सुनेकी थिएँ। उनीहरुलाई त निको भएको छ। मलाइ पनि निको होला नि भन्ने सोच्थेँ। डाक्टरहरु आएर कोरोनाको बारेमा नसोच्नु है आमै भन्थे। मलाइ अन्त–अन्त भुलाउनुहोला भन्थेँ। मैले पनि त्यसै गरेँ।

सबैभन्दा ठूलो कुरो त हौसला नै रहेछ। हौसला राख्यो भने, म बाँच्नु पर्छ भन्ने भयो भने केही नहुने रहेछ भन्ने मलाइ लाग्यो। मलाइ छोरीले पनि टाढा बसेर सम्झाई रहन्थिन्। केही हुँदैन आमा निको हुन्छ भन्थिन्। मलाइ मेसिन(अक्सिजन) छुटाएनन्। जतिबेला पनि मेसिन लगाई रहनु पथ्र्यो। लगाइ रहेका थिए। अस्पतालमा पनि डाक्टरहरुले केही हुँदैन आमा नआत्तिनुहोस् भनी रहन्थे।

आखिर मर्ने भए त संसारका सबै मान्छे सकिन्थे होला। धेरै निको भएका छन् भन्ने कुरा सुनिन्थ्यो। केही हुँदैन होला झै लाग्थ्यो। सबैभन्दा ठूलो कुरा त हौसला नै लाग्यो। म रोगी मान्छे, उमेरले पनि बढी भइसकेकी थिएँ। यस्तो अवस्थामा भएकीले कोरोना निको भएर घर जानु पर्छ भन्ने सोच्थे। म अरु निको भएको सुनेर पनि केही हुँदैन होला भन्ने सोचिरहन्थे।

केही दिनपछि छोरालाई निको भएर घर गयो। अनि मलाइ पनि केही हुँदो रहेनछ झैं लाग्यो। छोरा निको भएपछि मेरो आधा रोग निको भएजस्तो लाग्यो। हल्का मन भयो। मनमा के के कुरा खेल्थ्यो सबै बन्द भए। अब श्रीमान र बुहारी अनि नातिनीको चिन्ता लाग्थ्यो। छोरीले आमा हजुर त पहिलेदेखि नै मेसिन लगाउनु भएको छ। अलिकति गाह्रो हुने हजुरलाई नै हो हजुर त ठिक हुनुहुन्छ भनेपछि अरुलाई त झन कति ठिक होला भन्थिन्। सम्झाउँ थिइन्।

मैलेपनि त्यही कुरालाई सम्झेँ। आखिर मर्ने भए त संसारका सबै मान्छे सकिन्थे होला। धेरै निको भएका छन् भन्ने कुरा सुनिन्थ्यो। केही हुँदैन होला झै लाग्थ्यो। सबैभन्दा ठूलो कुरा त हौसला नै लाग्यो। म रोगी मान्छे, उमेरले पनि बढी भइसकेकी थिएँ। यस्तो अवस्थामा भएकीले कोरोना निको भएर घर जानु पर्छ भन्ने सोच्थे। म अरु निको भएको सुनेर पनि केही हुँदैन होला भन्ने सोचिरहन्थे।

खाने कुरामा त अरु दिन जस्तै खाइयो। बेसार पानी पनि खाएँ। त्यसमा लसुन, अदुवा, टिमुर हालेको पानी पनि दिनमा एक पटक खान्थेँ। तातोचिज खानु पर्दो रहेछ। आफूलाई कोरोना लागेको छ भन्ने कुरा सोच्नु हुँदो रहेन छ। अरु अरु कुरामा मन भुलाउनु पर्ने रहेछ। जति अरुकुरामा मन भुलाउन सक्यो त्यति कोरोनालाई जित्न सकिने रहेछ। आफूसँग बसेको मान्छेले पनि हौसला दिनु पर्दो रहेछ। केही हुँदैन भन्दा पनि आफूलाई अहिले नै उठौँ उठौँ झै हुन्थ्यो।

दम रोगले जति समस्या पारेको थियो मलाइ त त्यति पनि भएन। बरु दम लागको बेला यो मेसिन थिएन। म त आत्तिएकी थिएँ। काठमाडौं भएका छोराले कता कता कुरा गरेछन्। घरमा भएकालाई फोन गरेर यसो र उसो गर भने, घरकाले गरे र मेसिन जोडेपछि सन्चो भएजस्तै भएको थियो। यो बेला त मलाई त्यति पनि भएन।

छोरी न आउँदा र घरका सबैलाई कोरोना लाग्यो भनेर सुन्दा त पीर लागे पनि वरपरका सबैले सहयोग गरे। मेरो छोराछोरीलाई वरपरकाले राम्ररी चिन्छन्। उनीहरुलाई चिन्ने भएर पनि होला हाम्रो परिवारलाई सबैले माया गर्छन्। यो बेलामा पनि सहयोग गर्नुभयो सबैले। दुध ल्याएर परै राख्दिनु हुन्थ्यो। अहिलेसम्म पनि त्यसै गर्ने गरेका छौं।

अहिले त सबैलाई सन्चो छ। नातिनी हजुरबा पनि राम्ररी ठिक भइसकेका छन्। छोरा त सबैभन्दा पहिला नै ठिक भएका हुन। बुहारी पनि ठिक छन्। छोरीले सबैलाई खाना पकाएर दिने गरेकी छन्। उनी किचन मै बस्ने गरेकी छन्। हामी निको भएपछि पनि दुरी कायम गरेका छौं। एक जनाले अर्को जनालाई छोएका छैनौं। सकेसम्म टाढैबाट एकले अर्कालाई सम्झाउँने र दुःख भुलाउने काम गरीरहेका छौं।  कुराकानीमा आधारित

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *