साढे १४ किलो सुन तस्करी प्रकरणः ९ जना थुनामा ३ जना धरौटीमा रिहा
काठमाडौं। जिल्ला अदालत काठमाडौंले नक्कली सुनतस्करीको आरोपमा पक्राउ परेका ९ जनालाई थुनामा पठाएको छ। मंगलबार जिल्ला अदालत काठमाडौंले सुन तस्करी र अवैध हातहतियार मुद्दामा पक्राउ परेकामध्ये ९ प्रतिवादीलाई पुर्पक्षका लागि तीन आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। न्यायधीश कमलप्रसाद पोखरेलको इजलाशले साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ९ जनालाई थुनामा पठाउने र ३ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए।
अदालतले निलेश लवजी भाई शखिया, विजय पटेल भन्ने विजय कुमार मगनलाल हसोडा, बहादुरसिंह कठायत, काठमाडौं बुढानीलकण्ठका प्रशन श्रेष्ठ, सिन्धुपाल्चोक उमेश श्रेष्ठ, राजु मुन्ना खान, श्रदुल अन्सारी , हुसेन अन्सारी र कौशल पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले विजय ताम्राकारसँग ५ लाख, श्रीनिवास उपाध्यायसँग १ लाख धरौटी माग गरेको छ। मणिक मल्लिकलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला अदालतले फरार रहेका अभियुक्तहरुको हकमा अदालत उपस्थित हुन म्याद जारी गरेको छ।
कमलादी सुन तस्करी प्रकरणमा प्रहरीले दुई ज्वलरी पसलेसहित १७ जना विरुद्ध मुद्दा दायर गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा असोज ११ गते पाँच अभियोगमा मुद्दा दायर गरेको थियो। उनीहरुलाई हतियार तथा खरखजना, अवैध सुन चाँदी चोरीपैठारी, चोरीनिकासी, डाँकाचोरी र संगठित अपराधमा सजाय हुनुपर्ने जिकीर अभियोगपत्रमा गरिएको थियो।
अभियोगपत्रमा ७ भारतीय नागरिकलाई समेत प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमा भारत गुजरातका निलेश एल शखिया भन्ने निलेश लवजी भाई शखिया, विजय पटेल भन्ने विजय कुमार मगनलाल हसोडा, भारत राजस्थानका देवांग पटेल, भारत कलकत्ताका मनिष मल्लिक, भारत राजस्थानका कौशल पटेल, भारत गुजराजको संजय पटेल भन्ने संजय कुमार राजभाई पटेल र राजस्थानका विकास अग्रवाल भन्ने विकास कुमार चिरनियालाई मुख्य अभियुक्तका रुपमा मुद्दा दायर भएको थियो।
यस्तै, काठमाडौं कपुर्धारा बस्ने बहादुरसिंह कठायत, काठमाडौं बुढानीलकण्ठका प्रशन श्रेष्ठ, बारा जितपुरसिमरा उपमहानगरपालिको ईलताफ हुसेन अन्सारी, सिन्धुपाल्चोक उमेश श्रेष्ठ, धनुषाका श्रीनिवास उपाध्याय, काठमाडौंको विजय ताम्राकार, रसुवाकी सृष्टि डंगोल, मकवानपुरका रुपेश बलामीलाई पनि सुन तस्करीमा संलग्न भएको आरोपमा अभियोगपत्र दायर भएको थियो।
२०७७ साउन १३ गते बिहान ९ बजे कमलादीबाट महेन्द्र शालिकतर्फ आउने जाने सडक खण्डमा चेकजाँच गर्ने क्रममा कृष्ण पाउरोटीबाट आइरहेको गाडीलाई शहिदगेटबाट नियन्त्रणमा लिएर नक्कली सुनको पोको हात पारेपछि प्रहरीले गाडी छाडिदिएको थियो।







डिसी नेपाल








Facebook Comment