उत्तर कोरियाको सैन्य परेडमा देखिएको विशाल क्षेप्यास्त्रबारे थाहा भएका कुराहरू
सियोल (बीबीसी)। उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ। त्यसको “भीमकाय” आकार देखेर उक्त देशका अस्त्रभण्डार बारेका अनुभवी विश्लेषक अस्त्रविज्ञहरू समेत चकित भएका छन्। रक्षा विशेषज्ञ मेलिसा ह्यानमले उक्त क्षेप्यास्त्र के हो र त्यो कसरी अमेरिका र विश्वका लागि खतरनाक छ भन्ने जानकारी दिने यो लेख तयार पारेकी छन्।
उत्तर कोरियाको सत्ताधारी ‘वर्कर्स पार्टी’ को ७५ औँ वर्षगाँठका अवसरमा मध्यरातमा एउटा अद्वितीय सैन्य परेड गरेको छ। उच्च साजसज्जा र व्यवस्थापन गरिएको उक्त कार्यक्रममा विश्वले अपेक्षा गरेअनुसार नै उत्तर कोरियाले भव्य प्रदर्शन गरेको थियो। त्यसमा उत्तर कोरियाली नेता किम जङ-अनको आश्चर्यजनक भावनात्मक मन्तव्य पनि सामेल थियो, जसमा उनी देशको संघर्षबारे कुरा गर्दा कैयौँ पटक भावुक बनेर रोएका थिए। र, अन्त्यमा उसले आफ्नो हालसम्मकै सबैभन्दा ठूलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) पनि सार्वजनिक गर्यो।
उक्त क्षेप्यास्त्रबारे थाहा भएका तीनवटा कुराहरू:
किमको वाचा: ‘रणनीतिक अस्त्र’
सन् २०२० को ज्यानुअरी १ तारिखमा किमले वार्षिक रूपमा दिने गरेको नववर्षको शुभकामना मन्तव्य दिएका थिए। त्यसमा उनले उत्तर कोरियाले “अत्याधुनिक अस्त्र प्रणाली” विकास गरिरहेको र त्यस्तो अस्त्र विकसित देशहरूसँग मात्र रहेको बताएका थिए।
उनले विशेषरूपमा “रणनीतिक” भन्ने शब्द उच्चारण गरेका थिए। त्यसको अर्थ पारमाणविक अस्त्र प्रणाली विकासका क्रममा छ भन्ने हो। त्यसबेला किमले स्पष्टरूपमा हतियारलाई अमेरिकासँग जोडिदिए।
उनले भने, “भविष्यमा उत्तर कोरिया-अमेरिका सम्बन्धलाई समाधान गर्न अमेरिकाले संकोच मान्ने र त्यसमा गतिरोध गर्नसक्छ, उसले उत्तर कोरियाका अगाडि आफैँलाई असहाय पाउन सक्नेछ, जो (उत्तर कोरिया) अनुमानभन्दा बढी नै शक्तिशाली बन्दै गएको छ र उ (अमेरिका) एउटा गहिरो गतिरोधमा फस्नेछ।”
यो नयाँ ‘आईसीबीएम’ (अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्र ) किमले वाचा गरेको रणनीतिक हतियार हो। यो पूर्णरूपमा अमेरिका लक्षित छ र ट्रम्प प्रशासनसँगको वार्ता विफल भएको सन्दर्भमा यो स्वाभाविक कदमका रूपमा देखिएकोछ।
अमेरिकी क्षेप्यास्त्र रक्षा प्रणालीका लागि नयाँ खतरा
उत्तर कोरियासँग यसअघि नै दुईवटा परीक्षण भइसकेका ‘आईसीबीएम’हरू रहेका छन्। सन् २०१७ मा दुईपटक परीक्षण गरिएको ह्वासङ-१४ ले १० हजार किलोमिटर परसम्म प्रहार गर्नसक्छ।
त्यसले एउटै पारमाणविक वारहेड (क्षेप्यास्त्रको टुप्पोमा हुने विस्फोटक) मार्फत् पश्चिमी युरोपको लगभग सबै क्षेत्रमा र अमेरिकाको मुख्य भूमिको आधाजस्तो क्षेत्रमा प्रहार गर्नसक्छ।
ह्वासङ-१५ पनि सन् २०१७ मै परीक्षण गरिएको थियो। यसले एक हजार तीन सय किलोमिटर क्षेत्रमा प्रहार गर्नसक्छ। जसको अर्थ एउटै पारमाणविक हतियारले यसले अमेरिकी मुख्य भूमिको जुनसुकै क्षेत्रमा प्रहार गर्नसक्छ।
नयाँ आईसीबीएम भने अझै परीक्षण हुन बाँकी छ। यो पनि ‘टु-स्टेज लिक्विड्-फ्युल्ड’ अर्थात् ‘दुई चरणको तरल इन्धन भएको’ क्षेप्यास्त्र हो। तर यसको लम्बाइ र व्यास ह्वासङ-१५ भन्दा धेरै छ।
जबसम्म यसमा प्रयोग भएको इन्जिनबारे थाहा हुँदैन वा परीक्षण गरिँदैन त्यसले कहाँसम्म प्रहार गर्नसक्छ भन्ने यकिन गर्नसक्ने सम्भावना छैन। यद्यपि यो डिजाइनले उत्तर कोरियाको मनसायलाई स्पष्ट गर्छ: उनीहरूलाई क्षेप्यास्त्रले प्रहार गर्नसक्ने क्षेत्रलाई बढाउनुपर्ने आवश्यकता छैन।
त्यसको साटो उनीहरू एउटै क्षेप्यास्त्रबाट धेरैवटा पारमाणविक हतियार प्रहार गर्न सकिने कुरामा केन्द्रित छन्। पहिलेदेखि नै सङ्घर्षरत अमेरिकी क्षेप्यास्त्र प्रणालीका लागि यो अर्को झड्का हुनेछ।
किनिक हरेक आउँदै गरेका वारहेडका लागि तिनलाई बीचमै रोकेर नष्ट गर्न धेरैवटा ‘इन्टरसेप्टर’हरू प्रहार गर्नुपर्नेछ। उच्च विकसित पारमाणविक अस्त्रहरू भएका देशहरूसँग धेरैवटा स्वतन्त्रखाले पुन: प्रवेश वाहनहरू (रि-इन्ट्री भेहिकल) अथवा एमआरभीहरू हुन्छन् र अहिले उत्तर कोरियाले त्यस्तै गर्न खोज्दैछ।
तत्काल चिन्ताको कारण
आईसीबीएमको डिजाइनबारे विभिन्नखाले प्रश्नहरू बाँकी छन्। त्यसले गर्दा यो कहिले परीक्षण हुन्छ भन्ने अनिश्चित छ। तर क्षेप्यास्त्र मुनिको ट्रक भने तत्कालैका लागि चिन्ताको विषय हो।
उत्तर कोरियालाई परमाणु युद्धमा सामेल हुने क्षमतालाई सीमित गरिदिने एउटा कुरा भनेको उनीहरूसँग भएका लन्चर अर्थात् हतियार प्रहार गर्न आवश्यक पर्ने उपकरणका सङ्ख्या हुन्।
आखिर तपाईँ त्यतिकै मात्रामा मात्र क्षेप्यास्त्र प्रहार गर्न सक्नुहुन्छ जति तपाईँसँग लन्चरहरू छन्। अमेरिकी अनुमानमा उत्तर कोरियाले बढिमा १२ वटा आईसीबीएमहरू प्रहार गर्नसक्छ।
यो जानकारीमा रहेका हरेक ६ वटा लन्चरले एउटा आईसीबीएम प्रहार गर्नसक्छन् र अमेरिकाले प्रतिरोध गर्नुपूर्व नै पुन: एकत्रित भएर दोस्रो क्षेप्यास्त्र प्रहार गरिहाल्छन् भन्ने अनुमानमा आधारित छ।
सन् २०१० मा उत्तर कोरियाले चीनबाट अवैध रूपमा ६ वटा डब्लूएस ५१२०० ट्रकहरू आयात गरेको थियो र तिनलाई हाइड्रोलिक बनाएर ‘ट्रान्सपोर्टर इरेक्टर लन्चर्स’ (टीईएल) मा रूपान्तरित गरेको थियो।
उत्तर कोरियाले ती टीईएलहरू आईसीबीएमहरूको ढुवानी गर्न र तिनलाई सोझ्याउन प्रयोग गर्ने गर्छ। ती ट्रकहरू यति बहुमूल्य छन् कि क्षेप्यास्त्र प्रहार गर्नुपूर्व तिनलाई त्यहाँबाट टाढा लाने गरिन्छ, किनकि यदि क्षेप्यास्त्र असफल भयो भने ती ट्रकलाई मर्मत गर्न अप्ठ्यारो हुन्छ।
यो परेडमा पहिलो पटक ६ वटाभन्दा बढी ट्रकहरू देखिएका छन्। यी नयाँ ट्रकहरूको निकै नै स्वरूप परिवर्तन गरिएको छ। त्यसले नाकाबन्दी र निर्यात प्रतिबन्ध हुँदाहुँदै पनि उत्तर कोरियाले उच्च क्षमताका लन्चरहरूका भागहरू अझै पनि प्राप्त गरिरहेको छ भन्ने स्पष्ट भएको छ।
त्यस्तै सम्भवत: उनीहरूले आफैँले स्वरूप परिवर्तन गरेर क्षेप्यास्त्र लन्चरहरू बनाउन सक्छन् भन्ने पनि स्पष्ट भएको छ। ठूलो सङ्घर्षको वर्षका बेला उत्तर कोरियाले नयाँ आईसीबीएम तयार पारेको घटनाले विश्वलाई उक्त देश, उसका नेताहरू अथवा उसका नागरिकको प्राविधिक सक्षमतालाई कमजोर नठान्न सन्देश दिएको छ।
-मेलिसा ह्यानम आम विध्वंसकारी अस्त्र र ओपन सोर्स डेटासम्बन्धी विज्ञ र वान अर्थ फ्युचर फाउन्डेशनको एक कार्यक्रम ओपन न्युक्लिअर नेटवर्ककी डेप्युटी डाइरेक्टर हुन्।







डिसी नेपाल








Facebook Comment