निरोगी जनता भए मात्र देश समृद्ध हुन्छ : मन्त्री थापा

डिसी नेपाल
२९ मंसिर २०७७ १८:२४
64
Shares

रत्नननगर । गृहमन्त्री रामबहादुर थापाले निरोगी जनता भए मात्र समृद्ध देश निर्माण गर्न सकिने बताएका छन् । भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देश समृद्ध हुन पहिला जनता निरोगी हुनुपर्ने उल्लेख गरे । “नेपाली रोगी छन् भने सुखी हुन सक्दैनन्”, उनले भने, “सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पनि पूरा हुँदैन । देश समृद्धतर्फ पनि जान सक्दैन ।”

मन्त्री थापाले कोभिड–१९ ले अर्थतन्त्र र समृद्ध नेपाल निर्माणमा ठूलो असर पारेकाले अव स्वास्थ्य हँुदै निरोगी नेपाली, समृद्ध नेपालको निर्माणमा अगाडि बढ्नु पर्ने उनको भनाइ थियो । सरकारले यस्ता प्राकृतिक चिकित्सालय निर्माणमा विशेष जोड दिने प्रतिबद्धता पनि मन्त्री थापाले व्यक्त गरे ।

भरतपुर महानगरपालिकाको व्यवस्थापनमा सञ्चालनमा रहेको चिकित्सालयले हालसम्म ३८६ जनाको सफल उपचार गरिसकेको छ । प्राकृतिक चिकित्साको मध्यमबाट उपचार गर्ने चिकित्सालयमा लक्षण नदेखिएका बिरामीलाई उपचार गर्दै आइरहेको छ ।

राष्ट्रिय परिचय–पत्र वितरण शुरु

चितवनमा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले तीन जनालाई परिचयपत्र हस्तान्तरण गरे । सो अवसरमा मन्त्री थापाले हरेक मानिसको अभिलेखीकरणका लागि परिचयपत्र अति आवश्यक भएकाले सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिने बताए ।

परिचयपत्रले देशमा शान्ति सुरक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । दुई वर्षभित्र सम्पूर्ण नेपालीको हातहातमा परिचयपत्र पुगिसक्ने मन्त्री थापाले बताए । अब जिल्लाको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा परिचयपत्रका लागि तथ्याङ्क सङ्कलनको काम बाँकी छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.