हप्तामा तीन दिन बिदा, कस्तो फाइदा हुन्छ?

डिसी नेपाल
१७ पुष २०७७ २१:०३

बीबीसी । इङ्ग्ल्यान्डको मिडल्यान्डस्थित एउटा सूचनाप्रविधि (आईटी) कम्पनीमा काम गर्ने फिलले विगत दुई वर्षदेखि साताको चार दिन मात्र काम गरिरहेका छन्।

“म काम गर्ने दिनमा कुल ३६ घण्टा व्यवस्थापन गर्छु र त्यसले राम्रैगरी काम गरिरहेको छ,” उनले भने। “सबैभन्दा ठूलो फाइदा भनेको आफ्नो व्यक्तिगत कामहरूको तालिका बनाउन निकै सहज भएको छ।”

धेरै संस्थाहरूले साताको चार दिन मात्र काम गराउने योजनाको प्रतिरोध गरिहेका छन्। तर कामसम्बन्धी विषयको अध्ययन गर्ने एउटा थिङ्क ट्याङ्कले भने यो व्यवस्थाले फाइदा हुने बताएको छ। काम गर्ने समयमा कटौतीले उत्पादकत्व वृद्धि गराई मूल्य वृद्धिलाई समायोजन गर्छ।

कोभिड-१९ सङ्कटको प्रारम्भिक चरण पार गरेको अवस्थामा पारिश्रमिक नघटाई साताको चार दिन काम गर्ने व्यवस्था धेरै कम्पनीका लागि सस्तो पर्न जाने उक्त संस्थाले दाबी गरेको छ। तर धेरै पारिश्रमिक दिनुपर्ने उद्योगअन्तर्गतका केही संस्थामा यस्तो व्यवस्था धेरै चाँडो लागु गरे रकम प्रवाहमा केही समस्या हुनसक्ने उसको भनाइ छ।

“धेरैजसो संस्थाका लागि काम गर्ने समय घटाउने विषय निकट भविष्यमा नै पूर्ण रूपमा यथार्थपरक लक्ष्य हुनसक्छ,” पारिश्रमिक नघटाई काम गर्ने समय घटाउने विषयको वकालत गर्दै आएको संस्था अटोनमीका निर्देशक विल स्ट्रङले भने।

उनले सार्वजनिक निकायहरूबाट सुरु हुनेगरी हप्ताको चार दिन काम गर्ने व्यवस्था मिलाउनका लागि सरकारले अनुसन्धान गर्नुपर्ने बताए।

चुनौतीहरू

चार दिन काम गर्न पाउँदा आनन्द महसुस गरेका फिलले काममा खटिने व्यक्तिका लागि आफ्नै किसिमका चुनौतीहरू रहेको स्वीकार्छन्। “कुनै कुरा नसकिँदासम्म काम गर्नुपर्ने अवस्था आए वा त्यसलाई छोड्न सकिने अवस्थामा दिन निकै लामो हुन सक्छ,” उनले बीबीसीलाई भने।

“फोनमा समय बिताउन पनि समस्या पर्न सक्छ। तर यी सब मिलाउन सकिने कुराहरू हुन्।”

पारिश्रमिक कटौती

एलन रेई स्विट्जरल्यान्डको एउटा स्टार्टअप कम्पनीमा काम गर्छन्। “म हप्ताको चार दिन काम गर्छु वा स्विट्जरल्यान्डमा भनिने हिसाबले ८० प्रतिशत जागिर खान्छु,” उनले बीबीसीलाई भने। “सोमवारदेखि बिहीवार अत्यन्तै उत्पादक रहन्छ र शुक्रवार म मेरा बालबच्चासँग समय बिताउँछु।”

एलनकी श्रीमती पनि साताको ५० देखि ७० प्रतिशत काम गर्छिन् जसको अर्थ उनीहरूले काम गर्ने भए पनि बच्चाहरूसँग पूरा दिन बिताउँछन्। “घाटा के छ भन्दा म तलबको ८० प्रतिशत मात्रै कमाउँछु। तर श्रीमतीले पनि काम गर्ने हुँदा र बालबच्चाको स्याहारको जिम्मेवारी मिलेर गर्ने हुँदा हाम्रो हकमा यसले राम्रै काम गरिरहेको छ,” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *