‘उनीहरुले जुनसुकै बेला मेरो घरको ढोका फोडेर पाँच वटा गोली दाग्न सक्छन्’

डिसी नेपाल
१८ पुष २०७७ १७:५९

बीबीसी । “मलाई डर लागेको छ। तपाईँले जोखिम अनुभूत गर्न सक्नुहुन्छ। कुनै पनि समयमा कुनै व्यक्तिले मेरो घरको ढोका फोडेर पाँच वटा गोली दाग्न सक्छ,” अली भन्छन्। “एउटा गोली ममाथि, एउटा मेरी श्रीमतीमाथि र तीन वटा मेरा तीन छोरीहरूमाथि।”

ब्रिटिश सेनाको अनुवादकका रूपमा काम गर्ने गरेकाले इराकी विद्रोहीले उनी र उनको परिवारलाई निसाना बनाउने अली (वास्तविक नाम परिवर्तन गरिएको) बताउँछन्। उनी आफ्नो काम जोखिमपूर्ण भए पनि देशभक्तिपूर्ण भावनाका कारण त्यसप्रति सन्तुष्ट रहेको बताउँछन्।

तर अमेरिकाले इरानी सैन्य कमान्डर कासिम सुलेमानी र वरिष्ठ इराकी मिलिसिया नेता अबु महदी अल-मुहान्दीसको हत्या गरेपछि अलीको काम अकस्मात् खतरनाक बन्न पुग्यो।

उनी अहिले गठबन्धन फौजका लागि काम गर्दैनन् तर इराकबाट फिर्ता भइसकेका ब्रिटिशहरूले आफूलाई अलपत्र पारिदिएको ठान्छन्। बीबीसी सम्वाददाताले अली र उनका साथी अहमद (नाम परिवर्तन गरिएको) लाई बग्दादको एउटा होटेलमा भेट्दा उनीहरू डराएका देखिन्थे।

“हामीलाई कहाँ जाने वा कसको ढोका ढकढक्याउने थाहा थिएँ। हामी बीबीसीसँग आयौँ र हामी हाम्रो आवाज र कथा ब्रिटेनका जनता र यूकेको सरकारले सुनोस् भन्ने चाहन्छौँ।”

एउटै परिवार

दुई वर्षअघि इराकमा ब्रिटिश फौजसँग काम गर्न थाल्दा आफूहरूलाई एउटा ठूलो परिवारको सदस्य भनिएको उनीहरू बताउँछन्। इस्लामिक स्टेटविरुद्धको लडाइँका लागि अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन अन्तर्गत काम गर्न आएका ब्रिटेनका फौजसँग काम गर्ने आठ अनुवादकमध्ये उनीहरू पनि हुन्।

यूकेको रक्षा मन्त्रालयले छ वर्षको अवधिमा ब्रिटिश फौजहरूले एक लाख २० हजारभन्दा बढी इराकी र कुर्दिश सैनिकहरूलाई तालिमका क्षेत्रमा मद्दत गरेको जनाएको छ।

अनुवादकहरूले गठबन्धनको एउटा महत्त्वपूर्ण शिविरमा खटिएका ब्रिटिश सल्लाहकारहरूलाई इराकी विशेष फौजलाई तालिम दिन सहायता गरिरहेका थिए। तर कहिलेकाहीँ आफूहरूले अनुवादभन्दा बढी काम गर्ने अहमद बताउँछन्।

उनका अनुसार ब्रिटिश सैनिकहरूले शिविरको सुरक्षाबारे चिन्ता जाहेर गर्दा अनुवादकले सम्भावित खतराबारे शिविर वरपरबाट जानकारी सङ्कलन गर्थे।

उक्त कामप्रति गर्व गर्दै अहमद भन्छन्, “उनीहरूले हामीलाई आफूलाई खतरामा पारेर काम नगर्न भनिराख्थे। तर हामी चाहिँ तिमीहरू हाम्रा दाजुभाइ हौँ र हामी तिमीहरूलाई सुरक्षित राख्न चाहन्छौँ भन्थ्यौँ।”

“हामी हाम्रो देशलाई माया गर्छौँ र उनीहरू हाम्रो देशलाई सघाउन आएका थिए त्यही भएर उनीहरूसँग काम गर्नु हाम्रा लागि गर्वको विषय थियो।”

‘निशाना’

तर सन् २०१९ को ज्यानुअरीमा राष्ट्रपति ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशाली सैनिक कमान्डर सुलेमानी र उनका उनका इराकी साझेदारको बग्दादमा हत्या गरिएपछि त्यसले इरानको समर्थन पाएको इराकी अर्धसैनिक दस्तालाई आक्रोशित बनायो।

पश्चिमा फौजहरू निशाना बने र उनीहरूसँगै काम गरेका इराकीलाई गद्दारको संज्ञा दिइयो। अलीका अनुसार वातावरण तनावग्रस्त बन्न पुग्यो र गठबन्धनबाट तालिम लिएका इराकी फौजहरूले उनीहरूलाई शत्रुको जस्तो व्यवहार गर्न थाले।

अहिले गठबन्धनका अखडाहरूमा निरन्तर रकेट आक्रमण हुने गर्छ र त्यो आफूले गराएको अपरिचित मिलिसिया समूहहरूले बताउँछन्। कैयौँ विज्ञहरूले नयाँ समूहहरू शक्तिशाली सिया मिलिसिया समूह काताइब हेज्बुलाह जस्ता सिया मिलिसिया समूहहरूका मोर्चा भएको ठान्छन्।

एक जना अमेरिकी अधिकारीले ती समूहहरू इरानको समर्थनप्राप्त पश्चिमा विरोधी मिलिसिया भएको प्रमाण आफूहरूसँग रहेको बताए। उनका अनुसार झुट्टो आवरणमा प्रस्तुत भएर उनीहरूले इराकी र गठबन्धन फौज दुवैलाई तर्साउने रणनीति लिएका छन् र त्यसबाट आफूहरूले ती समूहहरूलाई नचिन्ने भन्दै मुख्य मिलिसिया पनि उम्कन पाइरहेको छ।

पहिचान नखुलेका मिलिसिया समूहले कैयौँ चेतावनी जारी गरेका छन् र गठबन्धन फौजसँग काम गरिरहेका इराकीहरूलाई तत्कालै जागिर छाड्न भनिरहेका छन्।

त्रास

गठबन्धनका धेरै अखडा र बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट हमलाको जिम्मेवारी लिएको एउटा समूहले टेलिग्राममा एउटा सन्देश राख्दै अमेरिकी गठबन्धनसँग काम गरेका अनुवादकका लागि रकमको प्रस्ताव गरेको थियो।

विज्ञप्तिमा लेखिएको छ, “हामी आज अमेरिकी र ब्रिटिश अनि इराकका अरू शत्रुको सेवा गरेर आफू र देशप्रति गल्ती गर्नेहरूलाई माफी दिने प्रस्ताव गर्छौँ। हामीसँग सम्पर्कमा आए तिमीहरूलाई मासिक तलब र सुरक्षा उपलब्ध गराइनेछ।”

उनीहरूले प्रस्ताव गरेको ‘तलब’ अनुवादकका लागि मासिक ३,००० डलर एवम् अमेरिकी र ब्रिटिश गुप्तचर निकायलाई सहयोग पुर्‍याइरहेका व्यक्तिका लागि ५०,००० डलरसम्म रहेको छ।

अहमदका अनुसार उक्त चेतावनीमार्फत मिलिसियाले आफूसँग सहकार्य नगर्नेलाई शत्रु ठान्ने सन्देश प्रवाह गरेको थियो। उनले भने, “हामी र गठबन्धनमा के मात्रै फरक छ भने उनीहरूले गठबन्धनमाथि रकेट आक्रमण गर्छन् र हामीलाई गोली ठोकेर मार्छन्।” सुलेमानीको हत्यापछि गठबन्धन सेनाको बन्दोबस्तका सामाग्री बोकेका कैयौँ बख्तरबन्द गाडीहरूमा विस्फोटक सामग्रीले हमला गरिएको छ।

त्यस्ता ‘झोले मिलिसिया’हरूले हमलापछि सामाजिक सञ्जालमा भिडिओ राखेर अमेरिकी सेनालाई निसाना बनाएको भन्दै खुसी प्रकट गर्ने गरेका छन्।

खासमा ती बख्तरबन्द गाडीमा ठेक्कामा लिएका हुन्छन् र त्यसका चालक इराकी नै हुने गर्छन् र त्यहाँ कुनै पनि अमेरिकी वा गठबन्धन फौजका सदस्य सहभागी हुँदैनन्। अहमदले आफूहरूमाथि पनि जोखिम बढिरहेको आफूले प्रस्ट देखिरहेको बताए।

ब्रिटिश फौजहरूसँग काम गर्दा आफ्नो व्यक्तिगत विवरण गठबन्धनभन्दा बाहिर नजाने बताइएको उल्लेख गर्दै अलीले आफ्नो कामबारे पूर्ण रूपमा आफ्नी श्रीमतीसमेत जानकार नरहेको बताए।

गोपनीयता

तर कोरोनाभाइरसको महामारीसँगै इराक लकडाउनमा गएपछि त्यहाँ आवातजावतका लागि विशेष सरकारी अनुमति पत्र लिनुपर्ने व्यवस्था गरियो।

बीबीसीले देखेको एउटा सूचीमा अली र अहमदसहित आठ जना अनुवादकको पूरा नाम, परिचयपत्र सङ्ख्या, पद र कारको विवरण इराकी सुरक्षा फौजलाई उपलब्ध गराइएको पाइएको छ।

आठै जानालाई उनीहरूको आवतजावत सहज होस भनेर इराकी जाँच चौकीमा त्यो सूचना उपलब्ध गराइएको भनिएको थियो। इराकमा जाँच चौकीमा शक्तिशाली अमेरिका विरोधी सिया सशस्त्र समूहसहित विभिन्न सुरक्षाकर्मी हुन्छन्।

“यसको अर्थ हाम्रोबारेको सूचना मिलिसियासँग पुगिसकेको छ,” अहमद भन्छन्। मध्य मार्च यता आठ वटा शिविरहरू गठबन्धनले इराकी फौजलाई हस्तान्तरण गरिसकेको छ र उल्लेख्य सङ्ख्यामा फौजहरू घटाइएका छन्।

अली र अहमद काम गर्ने शिविरबाट पनि तोकिएभन्दा अगावै ब्रिटिश फौज फिर्ता भएका छन्। अहिले अहमद, अली र उनका साथीहरू बेरोजगार र असुरक्षित बनेका छन् र मिलिसियाले आफूलाई समात्ने डरैडरमा बसिरहेका छन्।

गठबन्धनका ब्रिटिश उपप्रमुख मेजर जेनेरल केभ कोप्सी इराकी अनुवादकको विवरण अरूलाई उपलब्ध गराइएको अस्वीकार गर्छन्। उनले व्यक्तिगत सूचनाहरू संरक्षित गरिने भन्दै त्यस्ता विवरण इराकी सुरक्षा निकाय वा सरकारलाई नदिइने बताउँछन्।

तर त्यसबारे विश्वासिलो कागजपत्र आफूले देखेको उल्लेख गर्दा उनले थप बुझ्ने जानकारी दिए। ब्रिटेनको रक्षा मन्त्रालयले यसबारेमा अनुसन्धान भइरहेको पुष्टि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *