गुरु रिम्पोछेको जन्मदिनमा छेच्यु पूजा (फोटोफिचर)

डिसी नेपाल
१८ फागुन २०७७ १०:५४
244
Shares

हेलम्बु। गुरु रिम्पोछेको जन्मदिनको तिथिमा हेलम्बु क्षेत्रका ह्योल्मो समुदायले ‘छेच्यु पूजा’ गरेको छ। ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्छन्।

गत शनिबार हेलम्बु गा.पा.२ सेर्माथाङको साङ्ग फिन्चोक उर्गेन छ्योलिङ गुम्बाको आँगनमा छेच्यु पूजा गरिएको थियो। भूकम्प र पराकम्पनले ध्वस्त बनाएको ६ वर्ष भइसक्दा टहराको छानोमुनी ध्वस्त पाँच शताब्दी पुरानो यो गुम्बाबाट देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लाम गुरु नाच्ने गर्छन्।

 

छेच्युको सुरुमा धार्मिक महत्वका पवित्र पुस्तकहरु (ह्युम)को १६ थान पुस्तकहरू पाँच दिनसम्म पाठ गरिसकेपछि मनाउने चलन छ। वर्षेनी आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने छेच्यु पूजा ह्योल्मो समुदायहरुले कोरोना संक्रमणबीच पनि मनाएका छन्।

पूजा गर्ने क्रममा भूकम्पले ध्वस्त बनाएको ६ वर्ष भइसक्दा पनि टहराको छानोमुनी ध्वस्त पाँच शताब्दी पुरानो गुम्बाबाट देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लामा गुरु नाच्दै निस्केका थिए। लामा गुरुले शिरमा कलात्मक मयुरप्वाखे पवित्र शिरपोष, हातमा तन्त्रमन्त्र कुदिँएका भयंकर बज्र र घण्टी पहिरिएका थिए।

ह्योल्मो धार्मिक पोशाकमा चिटिक्क देखिएका बौद्ध धर्मगुरु रिन्पोछे (पदमसंम्भवा)सँगै रिन्पाछेकै स्वरुप र देवीदेवताको सामुहिक लस्कर निस्किएको थियो।

बौद्ध धर्मका एक प्रमुख देव तथा ञिङ्मा सम्प्रदायका प्रवद्र्धक महागुरु रिम्पोछेले हिमाली गुफाहरुमा ध्यान, तपस्या गर्ने गर्छन्। साथै, भविष्यका निम्ति भनेर आफ्नो धार्मिक महत्वका पवित्र निधि(तेर)हरु लुकाएर राखेको ह्योल्मो क्षेत्रमा यस किसिमको धार्मिक कुराले विशेष महत्व राख्दछ।

चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व झंै विभिन्न गाउँहरुमा पञ्चमीदेखि पूर्णिमासम्म मनाउछन्। तर, काठमाडौंमा बसोबास गर्ने ह्योल्मो समुदायहरुले भने त्यसको एक महिना पछि शुक्ल पक्षको दशमीको दिन ह्योल्मो समाज सेवा केन्द्रमा वार्षिक रुपमा मनाउने गर्छन्। गुरु रिम्पोछेको जन्मदिन र धर्मग्रन्थअनुरुप पदमसंम्भवालाई आव्हान गरेर तान्त्रिक नृत्यमार्फत राक्षसमाथि बिजय गरेको छेज्यु पूजामा तान्त्रिक नृत्य देखाइन्छ।

सेर्माथाङका ह्योल्मो सांस्कृतिक अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मोका अनुसार त्यही पौराणिक घटनालाई स्मरण गरेर वार्षिक छेज्यु पर्व ह्योल्मो समुदायले मनाउँदै आएको छ। उनले भने, ‘नृत्यमा देविदेवतालाई बज्रयान तान्त्रिक अभ्यासमार्फत बशमा लिएर बुद्धको वचनमार्फत आर्शिवाद दिइन्छ, स्थानीय देवीदेवता (प्रकृति)को पूजा या ‘साङ’ गरिन्छ, जसबाट नकरात्मक शक्ति मर्ने विश्वास गरिन्छ।’

तीन दिनसम्म धार्मिक पुस्तकहरु वाचन गर्दै मनाइने यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिम्पोछेको प्रतिक स्वरुपका साथ अन्य विभिन्न देवी देवताका विभिन्न मुद्राका मुकुण्डोहरु लगाएर धार्मिक पूजा गर्दै नाच्ने गर्दछन्, जसलाई बाछ्याम भनिन्छ। छेच्यु पर्वमा धार्मिक नाचको लागि अध्यात्मिक सिद्धी पाएका लामा मात्रै (न्हाम्सा) पोशाक लगाएर सहभागी हुने गर्छन्।

यहाँका सर्वसाधारण यो पूजा साधारण मनोरञ्जनका रुपमा मात्र नभइ पूजामा भाग लिए वापत विशेष आशीर्वाद प्राप्त हुने विश्वास राख्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *