निलम्वनमा परेपछि माधव नेपालले के भने ?
फाइल
काठमाडौं । नेकपा एमाले सदस्यबाट ६ महिनाका लागि निलम्वनमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू र भीम रावलमाथिको कारवाहीलाई अश्वीकार गर्ने बताएका छन् ।
नेपालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै ‘स्वघोषित’ महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई आफूहरुमाथि कारवाही गर्ने कुनै अधिकार नभएको बताएका छन् ।
उनले नेकपा (एमाले) को निर्माण आफूहरुले गरेको र नवौं महाधिवेशनमा पनि आफ्नो नीति पास भएको भन्दै निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न अपिल समेत गरेका छन् ।
यस्तो उनको वक्तव्य
सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु । नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment