राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढौँ : नेता गुरूङ

डिसी नेपाल
२१ चैत २०७७ १२:३३

काठमाडाैं । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

बिपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उनले देशको राजनीतिक वातावरण बिग्रँदै गएकामा चिन्ता व्यक्त गरे। “राजनीतिलाई पेशा बनाइएको छ, त्यसबाट प्राप्त शक्ति, सम्मान र मर्यादालाई व्यक्तिगत वा समूहगत स्वार्थमा प्रयोग गरिदैछ”, बिपी कोइरालाले देखाएको बाटोलाई बेवास्ता गरेकाहरुप्रति इङ्गीत गर्दै समाजका अध्यक्षसमेत रहेका गुरुङले भने।

बिपी कोइरालाका अनुयायीले देश र जनताका निम्ति निष्ठाका साथ काम गर्नुपर्ने जनाउँदै राष्ट्रियताको अडान नत्याग्ने बिपीको सिद्धान्तको पालना गर्न पार्टीका सबै तहका कार्यकर्तालाई आग्रह गरे।

पूर्वसभामुख तारानाथ रानाभाटले बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राजनीतिक विचार र सिद्धान्तलाई सत्ता स्वार्थमा लागेर परित्याग गरेका कारण नेपाली कांग्रेस दिशाहीन हुँदै गएकामा खेद प्रकट गरे।

समाजका सहसभापति गोविन्दराज जोशीले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको स्थायित्व, आर्थिक उन्नति र जनताको जीवनस्तर उठाउने गुरुत्तर दायित्व बोकेको नेपाली कांग्रेस विखण्डित भएको बताए।

संवैधानिक कानूनका जानकार भीमार्जुन आचार्यले लोकतान्त्रिक संस्था र तिनका संरचनालाई सुदृढ तुल्याउन नेपाली कांग्रेसमात्र नभई सम्पूर्ण नेपाली जनताले आवाज उठाउन जरुरी भएको विचार व्यक्त गरे। दार्चुला, डडेल्धुरा, मनाङ, मुस्ताङ, भक्तपुर र तेह्रथुमबाहेक सातै प्रदेशका ७१ जिल्लामा विस्तार भएको समाजको दुईदिने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार समापन हुनेछ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *