पत्रकार महासंघ चुनावः १७ जिल्लाको परिणाम आउँदा युनियन १०, चौतारी ५

डिसी नेपाल
२५ चैत २०७७ २३:४२

काठमाडौं। नेपाल पत्रकार महासंघको तीनै तहका लागि बिहीबार भएको मतदानको मतगणना जारी छ। अपरान्ह ५ बजे मतदान सकिएसँगै मतगणना शुरु भएको हो। यो समाचार तयार पार्दासम्म राति साढे ११ बजे देशका विभिन्न १७ जिल्लाबाट जिल्ला शाखाको अन्तिम मत परिणाम आएको छ। यस्तै दुई पदमा केन्द्रीय समितिको पनि खाता खुलेको छ। एसोसिएट्स केन्द्रीय सदस्यको अन्तिम परिणाम आएको हो। एसोसिएट्सबाट केन्द्रीय सदस्यमा कृति भट्टराई र विकास कार्की निर्वाचित भएका छन्।

जिल्ला शाखाको मत परिणामअनुसार ईलाममा प्रेस युनियनका विप्लव भट्टराई, रौतहटमा प्रेस चौतारीका प्रेमचन्द्र झा, तेह्रथुममा प्रेस युनियनका अमृत बाँस्तोला, जाजरकोटमा प्रेस युनियनका बालकुमार शर्मा, गोरखामा प्रेस युनियनकै नरहरि सापकोटा अध्यक्षमा विजयी भएका छन्। अछाममा युनियका खम्बबहादुर खत्री, सल्यानमा युनियनकै नवीन पौडेल, गुल्मीमा प्रेस चौतारीका टोपलाल अर्याल, प्युठानमा युनियनकै सञ्जय रिजाल र डोटीमा पनि युनियनकै मोहन शाही अध्यक्षमा विजयी भएका छन्। अछाम र डोटीमा युनियनको एकल प्यानल थियो भने अन्य जिल्लामा गठबन्धन थियो।

यस् पर्वतमा पनि चौतारीका सन्तोष थापा विजयी भएका छन्। उता रुकुम पश्चिममा युनियनका लक्ष्मण केसी विजयी भएका छन् भने सिराहमा मनोज बनौता विजयी भएका छन्।

मुस्ताङमा प्रेस चौतारीका सुन्दरकुमार थकाली, ताप्लेजुङ प्रेस चौतारी आनन्द गौतम र कालिकोटमा भरतराज विष्ट अध्यक्षमा विजयी भएका छन्। हालसम्म युनियनबाट विजयी हुनेको संख्या १० पुगेको छ। हालसम्म चौतारीबाट जित्नेको संख्या ५ पुगेको छ। यी मध्ये चारजना माधव नेपाल निकट चौतारीका उम्मेदवार हुन्। पर्वतका थापा ओली निकट चौतारीका उम्मेदवार हुन्।

यस्तै एसोसिएट प्रदेशको पनि चुनावी परिणाम आएको छ। एसोसिएट प्रदेशको अध्यक्षमा प्रेस युनियनकै बैकुण्ठराज पराजुली विजयी भएका छन्। प्रदेश समिति र केन्द्रीय समितिको भने जिल्ला जिल्लामा मत गणना भए पनि सबै मत जोड्न नसक्दा कुन उम्मेदवारले कति मत ल्याए भन्ने यकिन हुन सकेको छैन। जिल्ला शाखामा आएको परिणामले प्रेस युयिनले अग्रता लिइरहेको छ।

प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल समूह निकट प्रेस चौतारी,लगायत ११ संगठनको एक प्यानल चुनावी मैदानमा होमिएको छ भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट प्रेस चौतारी अर्को प्यानल बनाएर चुनावी मैदानमा होमिएको छ। देशभर यी दुई प्यानलका उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *