सत्ता समीकरण: आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको कांग्रेस किन मौन ?

डिसी नेपाल
२६ चैत २०७७ ७:२६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक हप्ता पूरा हुन लाग्दासमेत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रक्रिया अगाडि बढाउन सकेको छैन।

केन्द्रीय कमिटीबाट सर्वसम्मत निर्णय भएपनि त्यसछि कांग्रेसले नयाँ सरकार गठनका लागि खासै पलह गरेको छैन। सभापति देउवा त यो विषयमा झनै मौन छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले केही मधेस केन्द्रीत दलका नेतासँग छलफल गरेपनि त्यो छलफल सकारात्मक बनेका छैनन्। कांग्रेसमा देउवा भन्दा पौडेल वर्तमान सरकार विस्थापनको पक्षमा छन्।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको दकमलाई असंवैधानिक भन्दै सकड आन्दोलन गरेको कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि ओली सरकारको विस्थापनमा मुख्य भूमिका खेल्नुपर्ने पौडेलको बुझाइ छ। तर कांग्रेसले चाहेर मात्रै पनि नयाँ सरकार बन्ने अवस्था छैन।

संसदीय अंकगणित र वर्तमान राजनीतिक परिस्थितिमा ‘सत्ताको साँचो’ जनता समाजवादी पार्टी ९जसपा० को हातमा रहे पनि उसले कुनै निर्णय लिन नसक्दा पनि विश्वासको वातावरण बन्न नसकेको हो।

पार्टीको निर्णयपछि नयाँ सत्ता समीकरणका लागि छलफल गर्न भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भए पनि कुनै निष्कर्ष भने निस्किन सकेन।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराईसमेतका नेताहरूले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आए पनि ठाकुर पक्षका नेताहरूको जोड केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने रहेको छ। जसका कारण जसपा अहिलेसम्म अनिर्णीत छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताउँदै आएको माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन। जसकारण कांग्रेस, माओवादी र जसपाबीच विश्वासको वातावरण बन्न सकेको छैन।

जसपा तयार भएमा ओली नेतृत्वको सरकार विस्थापनका लागि प्रक्रिया सुरु हुने भएपनि जसपाको एउटा समूह ओली सरकारको निरन्तरता र अर्को समूह विस्थापनको पक्षमा रहेका कारण कुनै निर्णय हुन कसेको छैन। यद्यपी जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकार विस्थपित गर्न कांग्रेस र माओवादीसँग सहमति भएसकेको दाबी गरेका छन्।

कांग्रेसले पार्टीबाट औपचारिक निर्णय गरेर गठबन्धनका लागि प्रस्ताव गरे पनि जसपाले भने सकारात्मक जवाफ दिन सकेको छैन। कांग्रेस वरिष्ठ नेता पौडेलले ठाकुरसँगको भेटमा ओलीको विकल्पमा नयाँ सरकार गठनका लागि मिलेर जाने प्रस्ताव गरे पनि ठोस जवाफ पाएनन्।

अहिलेको सरकारलाई समर्थन गर्ने वा नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट दुई धार देखिएको जसपाको बहुमत पक्ष ओली सरकारको पक्षमा रहेको छ। तर, पार्टी विभाजन हुने डरले निर्णय भने गर्न नसकेको विश्लेषकहरू बताउँछन्।

यता, माओवादी केन्द्रका नेता जसपाले नयाँ गठनबन्धनका लागि स्वीकृति नदिँदा अलमलमा देखिएका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ओलीले जुनसुकै कदम पनि चाल्न सक्नेतर्फ सचेत रहेका माओवादी नेताहरू सरकारलाई समर्थन नै नदिएकाले फिर्ताको कुनै औचित्य नभएको भन्दै टालिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *