जल्दाबल्दा जनसरोकारका विषयमा छलफल हुँदैन संसदमा

खेमराज थापा
३० चैत २०७७ १९:१७

काठमाडौं। एक हप्ता अगाडि काठमाडौंको वायु प्रदुषण खतराको विन्दुमा पुग्दा विश्कै सबैभन्दा प्रदूषित सहरका रुपमा रेकर्ड भएको थियो। राजधानी काठमाडौंमात्र नभई देशका अधिकांश भागमा वायु प्रदूषण उच्च थियो। अहिले पनि प्रदूषण यथावत छ।

प्रदूषणकै कारण हवाई यातायात प्रभावित बन्यो, ४ दिनसम्म सरकारले विद्यालयहरु बन्द गर्यो। तर पनि प्रदूषण हटिसकेको छैन।

हाल देशका ३८८ स्थानमा डढेलो लागेको छ। डढोले वन मासिएकोमात्र छैन, वायु प्रदूषण बढाउनमा यसको प्रमुख भूमिका छ। यतिमात्र होइन यो वर्ष आगोजन्य घटनामा परी ३ दर्जन मानिसहरुको मृत्यु भइसकेको छ।

मानवमाथि कै संकटका रुपमा गत वर्षबाट विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चपेटामा पर्दैछ नेपाल। छिमेकी मुलुक भारतमा संक्रमण बढेको एक महिनाभित्र नेपालमा पनि कोरोना संक्रमण ह्वात्तै बढेको छ। सोमबार ५ जना संक्रमित भएको पुष्टि भएको छ।

यी हुन अहिले प्रत्यक्ष जनतासँग सरोकार राख्ने जस्दाबल्दा मुद्दा। तपाइँलाई लाग्छ ? जनताको सर्वोच्च जनप्रतिनिधि संस्था संसदमा यी विषयमा छलफल हुन्छ? हुँदैन। संसद पुनःस्थापना भएपछि सोमबारसम्म ९ वटा बैठक भए। यी बैठकमा यस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रतिनिधिसभामा छलफल भएन। कुनै सांसदहरुले कुनै प्रस्ताव पनि राखेनन्।

संसद बैठक कार्यसूचीमा प्रवेश गर्नुअघि जनताका सरोकारका विषयमा बोल्न सांसदहरुले शून्य समय पाउँछन्। यो समयलाई सांसदहरुले यस्तै जल्दाबल्दा विषयमा सरकारको ध्यानाकर्षण गराउन बोल्ने परम्परा छ। तर, प्रतिनिधिसभाको दृश्यमा भने जल्दाबल्दा विषय देखिँदैनन्।

तर, आफूहरुले यी विषयहरुलाई उठाइरहेको दावी गर्छिन् प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल। उनले डिसी नेपालसँग भनिन्, ‘जनतासँग सरोकार राख्ने विषयहरुमाथि नै हामीले सरकारको ध्यानाकर्षण गराउने हो। आजको बैठकमा बोलिएन होला, अन्य बैठकहरुमा यो विषयमा बोलेकै छौं। कोरोना, डढेलो, प्रदूषण जस्ता विषय सार्वजनिक सरोकारका हुन्। यी विषयमा सरकारले संसदलाई जानकारी गराउनुपर्छ। सरकारले जानकारी गराएको छैन।’

सोमबारको बैठकको शून्य समयमा आधा दर्जनभन्दा धेरै सांसदहरुले बोले। ती मध्यकै एक हुन् भुसाल। उनले पनि सोमबार कोरोना, डढेलो, प्रदूषण जस्ता विषयमा बोलिनन्। उनले हालै राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिएको विभुषण, पदवीमा नेपालको पुरानो नक्सा प्रयोग गरेको विषयमा बोल्दै यो विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएकी थिइन्।

यद्यपी गृहमन्त्रालयले यो प्रकण स्पष्टीकरण दिँदै हाल वितरण गरिएको विभुषण गत वर्षको भएको र त्यतिबेला नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको जनाएको छ।

संसदमा जनतासँग प्रत्यक्ष सरोकार राख्नेभन्दा राजनीतिक विषयमा धेरै कुरा उठ्दै आएको छ। सोमबार पनि राजनीतिक विषयले निकै चर्चा पायो। प्रतिनिधिसभाको अली इलेक्सन, सरकारलाई दिएको समर्थनदेखि चुच्चे नक्साको विषयले संसदमा चर्चा पाउँदा कोरोनाको विषयले चर्चा नपाउनुलाई सांसदहरुको उदासिनताकै रुपमा बुझ्न सकिन्छ।

तर, सत्ता पक्ष भने यो स्वीकार गर्दैन। सत्तारुढ दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनताका सरोकारकै विषयमा सांसदहरुले बोलिरहेको बताए। उनले डिसी नेपालसँग भने, ‘अहिले संसद पुनःस्थापनापछि संसदले अलि लय समातेको छैन। तर, जनताकै विषयमा हाम्रा सांसदहरुले कुरा गरिरहनु भएको छ। अझ प्रभावकारी रुपमा सांसदहरुको प्रस्तुति हुनुपर्छ भन्नेमा दुईमत छैन।’

उता प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले भने जनसरोकारका विषयमा आफ्ना दलका सांसदहरुले बोलरहेको दावी गरे। उनले डिसी नेपालसँग भने, ‘आजको बैठकमा भएन होला, पहिलाका बैठकमा कुरा भएका छन्। आउने बैठकमा पनि हुन सक्छ।’

एक्लो बृहस्पति सुवाल

कालो बालदमा चाँदीको घेरा भने जस्तै प्रतिनिधिसामा आफ्नो दलबाट एक्लै प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने जल्दाबलदा विषयमा संसदको ध्यानाकर्षण गराउँदै आएका छन्। सोमबारको बैठकमा कोरोना समस्याबारे बोल्ने उनी एक्लो सांसद हुन्। उनले भारतमा कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा फैलिरहेको बताउँदै कोरोना सङ्क्रमण रोक्न नेपालका सीमानामा आवश्यक सतर्कता अपनाउन पर्ने सम्बन्धमा सरकारको ध्यान जानुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *