राष्ट्रिय सुरक्षाका लागि कूटनीतिक चातुर्य र आन्तरिक सुरक्षामा जोड

डिसी नेपाल
३० चैत २०७७ २२:५७
28
Shares

काठमाडौं । मुलुकको राष्ट्रिय सुरक्षा प्रवर्द्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका छन् ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौंका आयोजनामा सोमबार कलेजमा आयोजित ‘सङ्क्रमणकालमा राष्ट्रिय सुरक्षा चुनौतीहरु तथा नेपालका लागि अगाडिको बाटो’ विषयको राष्ट्रिय गोष्ठीमा उनीहरुले आन्तरिक सुरक्षा, स्वच्छ कर्मचारीतन्त्र, स्वस्थ्य मिडिया तथा शान्तिसेना र अन्य अन्तरराष्ट्रिय संस्थासँगको सहभागितामा जोड दिनुपर्ने सुझाव पनि दिए ।

राष्ट्रिय सुरक्षामा सेनाका अलावा राजनीतिक, आर्थिक तथा वातावरणका कुरा पनि जोड्नुपर्ने बताउँदै उनीहरुले सङ्क्रमणकाल अन्त्यका लागि राष्ट्रिय एकता, भ्रष्टाचारको अन्त्य, सामाजिक अन्तरघुलनता तथा राष्ट्रिय सुरक्षा रणनीति र दृष्टिकोण लिनुपर्ने बताए । आर्थिक सक्षमता, सूचनाको हक, राजनीतिक स्थायित्व एवं व्यावहारिक राष्ट्रिय सुरक्षा नीतिमा जोड दिँदै उनीहरुले अतिराजनीतीकरण र तटस्थता पनि सही नहुने सुझाव दिए। बुद्धिजीवीहरुले राष्ट्रिय सुरक्षा विषयमा ज्ञान हासिल गर्नुपर्ने र सुरक्षा विषयमा रहेको कमी औँल्याई सरकार एवं सम्बन्धित निकायलाई सिफारिश गर्नसक्नुपर्ने धारणा पनि उनीहरुले राखे ।

राष्ट्रिय सुरक्षा नीति जस्तो संवेदनशील विषयलाई सार्वजनिक गरी छलफल एवं बहसमा ल्याउनुपर्ने सुझाव उनीहरुले दिए । सो अवसरमा अवकाशप्राप्त डिआइजी सुरेन्द्रबहादुर शाहले नेपालको राष्ट्रिय सुरक्षा अवधारणाः चालु सङ्क्रमणमा विशेष जोड, प्रा डा युवराज सङ्ग्रौलाले विद्यमान सुरक्षा चुनौती, जोखिम र चुनौती तथा डा विष्णुराज उप्रेतीले लम्बिँदो सङ्क्रमणको व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अवकाशप्राप्त ब्रिगेडियर जनरल डा केशरबहादुर भण्डारी र सुरेश शर्मा, सशस्त्र प्रहरी बलका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक रविराज थापा र अवकाशप्राप्त ब्रिगेडियर जनरल डा उमेशकुमार भट्टराई, डा मनीष थापा र अवकाशप्राप्त ब्रिगेडियर जनरल दिलीप रायमाझीले टिप्पणी गरेका थिए ।

सहभागी पत्रकार, सैनिक र प्रहरी अधिकृत, परराष्ट्र मन्त्रालयका अधिकृतलगायतले सञ्चार, वैदेशिक नीति, मानव सुरक्षालगायत विषयलाई राष्ट्रिय सुरक्षा नीतिमा स्पष्ट उल्लेख गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा ब्रिगेडियर जनरल नारायण सिलवाल र अनुपजङ्ग थापा तथा कर्णेल बबी चन्दले सहजीकरण गरेका थिए ।

कलेजका शिक्षाध्यक्ष एवं उपरथी हीरालाल जोशीले चुनौतीपूर्ण र जटिल सुरक्षा वातावरणका अवस्थामा यसका सन्दर्भ र परिणामलाई बुझ्नुपर्ने बताउँदै यसबारेमा राजनीतिकर्मी, नीतिनिर्माणकर्ता र नागरिकले पनि राष्ट्रिय सुरक्षा विषयमा ज्ञान लिनुपर्नेमा जोड दिए । उनले सङ्क्रमणका समयलाई अवसरका रुपमा लिनुपर्ने र यसबाट सुरक्षा, स्थिरता र समृद्धि हासिल गर्नुपर्ने बताए । कलेजका मुख्य शिक्षक विमलराज शर्माले राष्ट्रिय सुरक्षाका विषयको गोष्ठीले सबैलाई सुरक्षा अवधारणाबारे सचेतना दिलाउने विश्वास व्यक्त गए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.