आगलागीबाट धनमालको क्षति

डिसी नेपाल
७ वैशाख २०७८ १६:२७
92
Shares

काठमाडौं। रोल्पा, रुन्टिगढी गाउँपालिका ४ मैचन्य बस्ने निमबहादुर घर्तीको घरमा उनको ८ वर्षीय छोरा तिर्थ राज घर्तीले चरा मारेर ल्याई पोल्ने क्रममा घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

दाङ, तुलसीपुर उपमहानगरपालिका १३ ढकनास्थित सिहादेव सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ५५ वर्षीय रातो कामीको घरमा समेत सोमबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

यसैगरी दाङ, गढवा गाउँपालिका ६ मनिकापुर बस्ने खिम बहादुर घर्तीको गोठमा सोमबार दिउँसो अचानक आगलागी हुँदा गोठसँगै रहेको घर तथा सोही ठाउँ बस्ने कमल घर्ती, शोभाराम घर्ती र हेम बहादुर घर्तीको गोठ पूर्णरुपमा जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

सल्यान, कुमाख गाउँपालिका ३ राम्रीस्थित राता पहरा सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नन्दराम ओली र क्षेत्र बहादुर ओलीको घर र गोठ तथा होतीराम ओलीको गोठ समेतमा सोमबार दिउँसो आगलागी भएको छ। आगलागीबाट भएको क्षतिको बिवरण हाल खुलेको छैन।

सप्तरी, शम्भुनाथ नगरपालिका ७ भगवतपुर बस्ने विन्देश्‍वरी भगतको गोठ तथा सोही ठाउँ बस्ने दुर्गानन्द ठाकुरको गोठ र सुत्ने कोठा समेतमा सोमबार राति आगलागी हुँदा दुबै जनाको गरी करिब १८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.