सगरमाथा आधार शिविरमा कोरोना संक्रमण तीब्र

डिसी नेपाल
२३ वैशाख २०७८ १०:१७

काठमाडौं। नेपालमा पर्वतारोहणको सिजन भर्खरै सुरु भएका बेला सगरमाथा आधार शिविरमा तीब्र रुपमा कोरोनाभाइरस संक्रमण फैलिएको पाइएको छ । सगरमाथाको आधार शिविरमा भएका पर्वतारोही र नेपाल सरकारले खटाएका अधिकारीहरूले कोभिड–१९ को लक्षण भएका आरोहीको संख्या तथा संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको बताएका छन् ।

गएको अप्रिल १५ मा नर्वेका नागरिक अर्लेन्ड नेसमा संक्रमण पुष्टि भएको थियो । सगरमाथा आधार शिविरमा भएका बेला लक्षण देखिएर संक्रमण पुष्टि भएका उनलाई बेस क्याम्पका पहिलो थाहा भएका संक्रमित मानिएको थियो । त्यसयता आधार शिविरमा लक्षण देखिएर हेलिकप्टरमार्फत उद्धार गरिएका आरोहीहरुको संख्या बढिरहेको छ । यसले सगरमाथा क्षेत्रमा संक्रमण तीब्र रुपमा फैलिन सक्ने र यस वर्षको आरोहण सिजन यत्तिकै रोकिन सक्ने त्रास बढाएको छ । महामारीका कारण अघिल्लो वर्षको सिजन आरोहण पूरै बन्द गरिएको थियो ।

अप्रिल २० मा सगरमाथा आधार शिविरबाट उद्धार गरी काठमाडौं ल्याइएका बेलायती आरोही स्टिभ ह्यारिसले डेलीमेलसँग कुरा गर्दै आफू काठमाडौं आइसकेपछि परीक्षण गर्दा आफू संक्रमित भएको पुष्टि भएको बताएका छन् । उनका अनुसार दर्जनौं आरोहीहरुमा लक्षण देखिएपछि उनीहरुलाई त्यहाँबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ । करिब ३० जना आरोहीहरुलाई यसरी उद्धार गरेर काठमाडौं ल्याइएको छ ।

बीबीसीले आधार शिविरमा भएका अधिकारीहरूलाई उद्धृत गर्दै सगरमाथाबाट उपचारका लागि काठमाडौं पठाइएका आरोहीमध्ये १७ जनामा कोभिड पुष्टि भएको विवरण प्राप्त भएको जनाएको छ । काठमाडौंस्थित एउटा निजी अस्पतालकी एक कर्मचारीले सगरमाथा आधार शिविरबाट फर्किएका बिरामीमा कोभिड–१९ देखिएको बीबीसीसँग पुष्टि गरिन् ।

बीबीसीले नेपाल सरकारले आधार शिविरमा कोभिड देखिएकोबारे आफूलाई जानकारी नभएको दाबी गरेको बताइएको छ तर पर्यटन मन्त्रालयका एक अधिकारीले भने अनौपचारिक रुपमा सगरमाथा आधार शिविरमा कोभिड संक्रमण देखिएको डिसीनेपालसँग स्वीकार गरेका छन् । सरकारले औपचारिक रुपमा यस विषयमा सूचना सार्वजनिक गर्न हिच्किचाउनुको कारण यसले पर्वतारोहण अभियान बन्द गर्न दबाब सिर्जना गर्ने जोखिमलाई मानिएको छ ।

सगरमाथा आधार शिविरमा मेडिकल क्लिनिक सञ्चालन गर्ने हिमालयन रेस्क्यू असोसीएशनले त्यहाँबाट हेलिकप्टरबाट काठमाडौं लगिएका केही आरोहीहरूमा कोभिड पुष्टि भएको सूचना आफूले पाएको बीबीसीलाई बताएको छ। ‘हामीले भर्खरै सत्र जनामा संक्रमण पुष्टि भएको सूचना काठमाडौंबाट पाएका छौँ,’ उक्त संस्थाका ल्हाक्पा नुरु शेर्पाले बीबीसीसँग भने।

अर्कोतर्फ आधार शिविरबाट काठमाडौं लगिएपछि संक्रमित पुगिट भएका बेलायती आरोही स्टिभ ह्यारिसले आधार शिविरमा सुरक्षा प्रोटोकल अनिवार्य लागू नगरिएको दावी गरेका छन् । उनले डेलीमेलसँग भने ‘सामाजिक दूरी र मास्क लगाउन अनिवार्य गरिएको थिएन ।’ आधार शिविरमा संक्रमित पाइएपछि नाम्चे बजार ल्याइएका उनले त्यहाँ आफूलाई कोभिड–१९ परीक्षण गर्न नभनिएको दावी समेत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *