माधव नेपालले आफ्नो पक्षमा गनेकी सांसदले नेपाललाई भनिन् ‘आत्मघाती गोल नगर्नुस्’

डिसी नेपाल
२६ वैशाख २०७८ १४:३९

काठमाडौं। नेकपा एमालेको असन्तुष्ट माधव नेपाल समूहले आफ्नो पक्षमा रहेकी भनेर गणना गरेकी सांसद गंगा चौधरी सत्गौवाले आफू माधव नेपालको समूहमा लागेर पार्टीभित्र विद्रोह गर्ने पक्षमा नभएको प्रस्ट पारेकी छिन् । उनले अन्य राजनैतिक शक्तिको उक्साहटमा लागेर उनीहरुको गोटी बनेर उनीहरुको स्वार्थ पूरा गर्नको लागि आफ्नो पार्टीलाई क्षतविक्षत पार्नु पार्टीका बरिष्ठ नेताहरुलाई नसुहाउने बताएकी छिन् ।

उनले पार्टीभित्रको अन्तर्विरोध, विमति, असहमति र असमझदारीलाई पार्टीभित्रै छलफल र अन्तर्संघर्षको माध्यमबाट हल गर्नु नै उत्तम विकल्प र बुद्धिमानी हुने बताएकी छिन् । अग्रज नेताहरु पार्टीलाई क्षतिविक्षत गर्ने हदसम्म गएर पार्टीलाई अपूरणीय क्षति पुर्याएमा इतिहास र पार्टीका इमान्दार कार्यकर्ता एवं शुभ चिन्तकहरुले उनीहरुलाई धिक्कार्ने चौधरीले बताएकी छिन् । उनले लेखेकी छिन् ‘इतिहासले माफ गर्ने छैन तपाईंहरुलाई । चेतना भया ।’

चौधरीले अगाडि लेखेकी छिन् ‘भाई फुटे गँवार लुटे भन्ने चर्चित र शाश्वत उखानबाट तपाईंहरु पक्कै अनभिज्ञ हुनुहुन्न । अनि हगी सक्यो दैलो देख्यो भन्ने उखानको मर्म पनि भलिभाँती बुझ्नु भएकै छ कमरेडहरु । एउटा व्यक्तिसँगको व्यक्तिगत इगो र टसलको कारण हजारौं लाखौं नेता कार्यकर्ता र शुभ चिन्तकहरुको मन दुखाउने छुट र हक तपाईंहरुलाई छैन । कथंकदाचित त्यसो गरी हाल्नु भयो भने त्यो आत्मघाती गोल ठहरिनेछ र तत्पश्चात् तपाईंहरुको मनोविज्ञान पनि आत्मघाती गोल गर्ने खेलाडीको जसरी नै गुज्रनेछ ।’

चौधरीले अगाडि लेखेकी छिन् ‘त्यति बेला तपाईंहरुले पनि चैनको श्वास फेर्न सक्नु हुने छैन। तपाईंहरुको मन भतभती पोल्नेछ । आत्मग्लानी हुनेछ । यसमा कुनै सन्देह छैन कमरेडहरु । त्यसैले मेरो बिन्ती छ कमरेडहरु अझै पनि समय छ ठण्डा दिमागले सोच्नुहोस् र पार्टीलाई एक ढिक्का राख्न हदैसम्मको भरमग्दुर प्रयास गर्नु होस् । इगो छोडी दिनुहोस् । यिनीहरु पद नपाएर मात्र यसो गरेका हुन् भन्ने अवगालबाट पनि बच्नुहोस् । पार्टी भित्र अन्तरसंघर्ष गर्ने उपयुक्त र सर्वोत्तम विकल्प त छँदैछ नि । कहिले सासुको पालो कहिले बुहारीको पालो त भै हाल्छ नि । तर त्यसको लागि धैर्य धारण त गर्नु पर्यो नि कमरेडहरु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *