कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन आधा झण्डा झुकाइने
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको छ।
ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा साउन १२ गते उनको निधन भएको थियो। साउन १३ गते बसेको आकस्मिक बैठकले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नाका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति एवं ऐतिहासिक १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्येका एक स्वर्गीय श्रेष्ठले विद्यार्थी जीवनदेखि नै लोकतन्त्रको स्थापना, पुनर्वहाली र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। राजनीतिक संघर्षका क्रममा उनले पटक-पटक गरी करिब ६ वर्ष जेल जीवन बिताएका थिए।
वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठ वि.सं. २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य र २०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए।
आफ्नो लामो राजनीतिक जीवनमा उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य र शिक्षा मन्त्रीजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
साथै उनी नेपाली कांग्रेस संसदीय दलका पूर्व प्रमुख सचेतकसमेत थिए। लोकतन्त्र, समाजवाद र राष्ट्रप्रतिको समर्पणका लागि पार्टीले उनको योगदानको उच्च सम्मान व्यक्त गरेको छ।
उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी राजनीतिज्ञ गुमाएको र संगठन निर्माणमा उनले पुर्याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ।
वरिष्ठ नेता श्रेष्ठप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले तीनदिने शोक कार्यक्रम घोषणा गरेको छ। जसअनुसार साउन १३, १४ र १५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ।
साउन १४ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द रहनेछन्। यस्तै, स्वर्गारोहणको १३ दिनसम्म सबै कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ भने १३ औँ दिनमा उहाँको गृह जिल्ला स्याङ्जाको कालीगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गरिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment