उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा
काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेका छन्।
उपराष्ट्रपति यादवले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन पुर्याउनुभएको योगदानप्रति धन्यवाद व्यक्त गरे।
उपराष्ट्रपति यादवले हालैको विनाशकारी बाढीका कठिन घडीमा भारत सरकारद्वारा प्रदान गरिएको मानवीय तथा विपद् सहायताप्रति धन्यवाद व्यक्त गरे। उनले विपद् प्रभावित भारतीय नागरिक तथा पर्यटकहरूका परिवारजनप्रति गहिरो सहानुभूति र हार्दिक समवेदना प्रकट गरे।
राजदूत श्रीवास्तवको कार्यकालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारतको सहयोग, दीर्घकालीन विद्युत् व्यापार सम्झौता, द्विपक्षीय संयन्त्रहरूको सक्रियता तथा सहकार्यलाई उपराष्ट्रपति यादवले प्रशंसा गरे।
उपराष्ट्रपति यादवले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँको सुस्वास्थ्य र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतको सम्बन्ध थप घनिष्ट बनेको उल्लेख गर्दै नेपाल र नेपालीको सम्झना सदैव रहने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment