मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न प्रतिष्ठान आवश्यक छ : मन्त्री मेहता
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा, दक्ष जनशक्ति उत्पादन र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आवश्यक रहेको बताएकी छन्।
प्रतिनिधिसभामा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पहुँच बढाउनुपर्ने बताइन्। अन्य प्रदेशमा यस्ता प्रतिष्ठान सञ्चालनमा रहे पनि मधेशमा स्थापना हुन नसकेको भन्दै उनले प्रादेशिक सन्तुलनका लागि यसको आवश्यकता औँल्याइन्।
सरकारले प्रतिष्ठानका लागि पूर्वाधार तयारी गर्न २०८० मा विकास समिति गठन आदेश जारी गरेको र काम अघि बढिसकेको मन्त्री मेहताले जानकारी दिइन्। चालु आर्थिक वर्षमा पनि प्रतिष्ठानका लागि बजेट विनियोजन गरिएको उनले बताइन्।
प्रतिष्ठान स्थापना भए मधेशका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा पाउने तथा चिकित्सा शिक्षामा समावेशी सहभागिता बढ्ने मन्त्रीको भनाइ छ। प्रतिष्ठानसम्बन्धी एकीकृत छाता ऐन नआएसम्म छुट्टै कानुनमार्फत यसको संस्थागत आधार बनाउनुपर्ने उनले बताएकी छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment