चार दिनपछि खुल्यो बीपी राजमार्ग, वैकल्पिक र अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग अन्ततः मङ्गलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारबाट तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ‘ट्र्याक’ खोलेर सवारी साधन सञ्चालन गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए। उहाँका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ।
रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बगाउनुका साथै दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
हाल जोखिमयुक्त स्थानहरूमा एकतर्फी (वान-वे) रूपमा सवारी सञ्चालन गरिएको छ भने ती स्थानहरूमा छिट्टै दुईतर्फी नै बाटो खुलाउने गरी तीव्र गतिमा काम भइरहेको कार्यालयले जनाएको छ। सडक खुलाउन सोमबार बिहानदेखि नै अस्थायी डाइभर्सन निर्माण र पहिरो पन्छाउने कार्य थालिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment