प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाई भेट
काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाई भेट गरेका छन्।
नेपालका लागि आफ्नो कूटनीतिक कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका राजदूत श्रीवास्तवले मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग शिष्टाचार बिदाई भेट गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच नेपाल-भारत बीचको ऐतिहासिक, सांस्कृतिक तथा द्विस्तरीय सम्बन्धका विविध पक्षहरूमा खुल्ला र सौहार्दपूर्ण छलफल भएको छ।
प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन, व्यापार तथा पूर्वाधार विकासका क्षेत्रमा भएका सहयोगलाई निरन्तरता दिन र आपसी हितका विषयमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
सो अवसरमा प्रधानमन्त्री शाहले श्रीवास्तवलाई एक सफल कूटनीतिज्ञका रूपमा स्मरण गर्दै उनको आगामी भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए।
जवाफमा राजदूत श्रीवास्तवले आफ्नो नेपाल बसाइका क्रममा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज र नेपाली जनताबाट पाएको अगाध स्नेह, सहयोग र सदिच्छाका लागि हार्दिक आभार प्रकट गरे। उनले नेपाल र भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ र मजबुत हुँदै जाने विश्वास व्यक्त गरे।
उक्त भेटघाटमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै भारतीय दूतावासका उच्चपदस्थ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment