तासको खालमा प्रहरी पुगेपछि भाग्दा एकको मृत्यु, एकको खुट्टा भाँचियो

डिसी नेपाल
१३ असोज २०८३ १४:०६

विराटनगर। विराटनगरमा प्रहरीले तास खेलिरहेको स्थानमा छापा मार्ने क्रममा पक्राउ परेका एक जनाको हिरासतमा अचेत भई अस्पताल लैजाँदा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि भागाभाग भएको थियो। सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मङ्गलबार बिहान मृत्यु भएको हो।

भागदौडका क्रममा घरको दोस्रो तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाको दाहिने खुट्टा भाँच्चिएको र उनको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गस्ती टोलीलाई देखेपछि भएको भागाभागका क्रममा कोइराला सामान्य घाइते भएका थिए। प्रहरीले घटनास्थलबाट कोइराला र मुखियासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक स्वास्थ्य जाँचमा अवस्था सामान्य देखिएपछि कोइरालासहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो।

मङ्गलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिहरूले उठाउन खोज्दा कोइराला अचेत फेला परेका थिए। तत्काल उपचारका लागि कोशी अस्पताल र त्यसपछि नोबेल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले बिहान ११ बजे उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीले घटनास्थलबाट नगद रु ४८,३९५ बरामद गरेको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा धनपालथान–६ का साजन राजवंशी, विराटनगरका सत्यनारायण राजवंशी, तोरण यादव, राजेश कामत, गंगाराम मण्डल र विष्णु कामत रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *