सामूहिक राजीनामा दिने माधव समूहको निर्णय

खेमराज थापा
२६ वैशाख २०७८ १९:४७

काठमाडौं। नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सँयुक्त राजीनामा दिने निर्णय गरेको छ। सिंहदरवारमा आइतबार साँझसम्म भएको सो समूहको छलफलले सँयुक्त राजीनामा दिने निर्णय गरेको हो। एक सांसदका अनुसार सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि राजीनामा बुझाउने निर्णय भएको छ।

यसअघि नै राजीनामा दिनका लागि १९ जनाले राजीनामा पत्र वरिष्ठ नेता नेपाललाई बुझाइसकेका थिए। तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तिम समयसम्म पनि विवाद समाधानका लागि पहल गर्ने निर्णय अनुसार आइतबार दिनभर ओली समूहसँग छलफल भएको थियो। तर, ती छलफलपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै माधव नेपालको नाम नलिएरै सो समूहले हानिकारक काम गरेको टिप्पणी गरेपछि आइतबार भएका वार्ताहरु असफल भएको स्पष्ट भएको थियो।

विष्णु पौडेल र सुवास नेम्वाङसँग सिंहदवारमा छलफल गरेपछि नेता नेपालले आफू निकट नेताहरुको भेला सिंहदरवार परिसरमै गरेका थिए। सो भेलाले सामूहिक राजीनामा दिने निर्णय गरेको एक सांसदले डिसी नेपाललाई जानकारी दिए। माधव समूहको यो निर्णयसँगै अब एमाले सिंगो नरहने स्पष्ट भएको छ भने प्रधानमन्त्री ओलीले संसदमा राखेको अविश्वासको प्रस्ताव पनि असफल हुने देखिएको छ।

भेलापछि बोल्दै एमाले नेता योगेश भट्टराईले आइतबार अध्यक्ष तथा ओलीले जारी गरेको वत्तव्यप्रति दुःख व्यक्त गरेको जनाए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले सोमबार ९ बजेसम्म अध्यक्षको ध्यानाकर्षकण गराउने समय दिएको बताए। सो समयसम्म कुनै पहल नभए साढे ९ बजे सबै सांसदहरु संसद सचिवलायमा जम्मा हुने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *