के एमालेमा ०७५ जेठ २ फर्किन्छ? – Dcnepal

के एमालेमा ०७५ जेठ २ फर्किन्छ?

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका नेकपा एमालेका नेता सुर्य थापाले आइतबार विहान समाजिक संजाल फेसबुकमा ‘२०७८ साल जेठ २ गते पूरा तीन वर्ष बित्यो’ भनेर स्टाटस लेखे।

थापाले स्टाटस लेखेको अघिल्लो दिन प्रधानमन्त्री परराष्ट्र सल्लाहकार राजन भट्टराईले एमाले अब ०७५ जेठ २ गते कै अवस्थामा फर्किन नसक्ने अभिव्यक्ति दिए।

वैशाख ३० गते बिहीबार प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद समाधानका लागि ०७५ जेठ २ कै सेरोफेरोमा सहमति खोज्ने गरी छलफल भएको थियो।

त्यसैलाई आधार मानेर सहमतिको खाका बनाउन अहिले कार्यदल बनाउने विषयमा घनिभूत छलफल भइरहेको छ। विभाजनको औपचारिक घोषणामात्र हुन बाँकी रहेको एमालेभित्रको विवाद अहिले समाधानउन्मुख भइरहेका बेला प्रधानमन्त्री ओलीका सल्लाहकारले भने पार्टी

पहिलाकै अवस्थामा फर्किन नसक्ने भन्दै अभिव्यक्ति दिइरहेका छन्। तर यो विषयमा ओली स्वयंले भने औपचारिक टिप्पणी गरेका छैनन्। उनी पार्टीलाई एकताबद्ध पारेर लैजान प्रतिवद्ध रहेको ओली निकट नेताहरुले बताएका छन्।  यता माधव नेपाल समूहका नेताहरुले पनि अध्यक्ष ओली बाहेक अन्य सल्लाहकारको भनाइलाई आधिकारिक मान्न नमिल्ने बताउँछन्।

के हो ०७५ जेठ २ को अवस्था

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन नभएको थियो। नेकपा बनेसँगै दुवै दलका संरचना भंग भएर नयाँ संरचनामा नेकपा गठन भएको थियो। तर त्यसको झण्डै तीन वर्षपछि सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि एमालेभित्र विवाद बढेर गयो।

एमाले पूर्ववत अवस्थामा फर्काएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीलाई भंग गरी महाधिवेशन आयोजक कमिटी बनाए। फागुन २८ विषेश केन्द्रीय कमिटीको बैठक बोलाएर केन्द्रीय कमिटीलाई भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गर्दै नवौं महाविधेशनबाट निर्वाचित पदाधिकारीमध्ये अध्यक्ष र महासचिव मात्रै कायम हुने गरी अरु सबै पद खारेज गरियो।

फागुन २८ मा ओली समूहले केन्द्रदेखि जिल्लासम्म माधव नेपाल समूहका नेताहरुलाई भूमिका विहीन बनाएर आफू निकट नेताहरुलाई जिम्मेवारी दिएको छ। ०७५ जेठ २ को पूर्वको एमाले भित्र पदाधिकारी र स्थायी कमिटीमा माधव नेपाल समूह बहुमतमा थियो।

पाँच जना उपाध्यक्षमध्ये तीन जना माधव नेपाल पक्षका थिए। त्यस्तै सचिवमा पनि माधव नेपाल पक्षधर धेरै थिए। अहिले ०७५ जेठ २ को अवस्थामा पार्टी फर्किँदा पार्टीका कमिटीमा माधव नेपाल समूह बहुमतमा पुग्छ। त्यही भएर माधव नेपाल समूहले ०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने पर्ने विषयलाई एजेण्डा बनाएको छ।

उक्त विषयमा अध्यक्ष ओली सकारात्मक रहेको र यो विषयमा थप छलफल गर्न कार्यदल बनाउन दुवै समूह सहमत भएको छ। माधव नेपाल समूहले यो विषय चाँडै टुंग्याउनुपर्ने बताएको छ। यही जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ।

उक्त निर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री राबहादुर थापा बादल उम्मेद्वार छन्। उनले जित्नका लागि माधव नेपाल समूहको सहयोग आवश्यक पर्छ। त्यसैले नेपाल समूहले त्यो भन्दा अगाडि नै विवाद समाधानका लागि निष्कर्षमा पुग्न चाहेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो