जसपा विवाद : राजेन्द्र महतो आधिकारिक संसदीय दलको नेता हुन्?

सम्भव सिंह ठकुरी
२ जेठ २०७८ १२:३५

काठमाडौं। वर्तमान सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनता समाजवादी पार्टी आन्तरिक शक्ति संघर्षका कारण फुटको संघारमा पुगेको छ। क्षेत्रीय राजनीति गरेको जसपा राष्ट्रिय राजनीतिको निर्णायक शक्ति बन्दा उक्त शक्ति प्रयोग गर्ने विषयमा विवाद हुँदा फुटको संघारमा पुगेको हो।

वर्तमान सरकारलाई समर्थन गर्ने वा विस्थापित गर्ने भन्ने विषयमा पार्टीभित्र दुई लाइन संघर्ष हुँदा जसपा विभाजनको संघारमा पुगिसकेको छ। पूर्व राजपा र पूर्व समाजवादी पार्टी आ–आफ्ना अडानमा कायम रहँदा विभाजनको बिउ उम्रेको थियो।

यसैबीच बिहीबार बसेको जसपा संसदीय दलको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेपछि जसपा औपचारिक रुपमा मात्र विभाजन हुन बाँकी छ। पूर्व राजपाले एकतर्फी पमा महतोलाई संसदीय दलको नेता बनाएको भन्दै पूर्व समाजवादी समूहले आपत्ति जनाएको छ।

सो समूहले महतोलाई दलको नेता बनाएको विषयमा औपचारिक जानकारीसमेत नआएको जनाएको छ। जसपा अध्यक्ष उपेन्द्र यादव समूहका सांसद प्रदीप यादव महतोलाई संसदीय दलको नेता मान्न तयार छैनन्। उनी भन्छन्, ‘राजेन्द्र महतो पार्टीको संसदीय दलको विधान विपरित दलको नेता बनेको हुन्। यसमा कुनै वैधानिकता छैन।’

संसदीय दलको नेता चयन गर्ने विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्नेमा केही सीमित मान्छे भेला गरेर गरेको निर्णय आधिकारिक र वैधानिक नभएको उनको तर्क छ।

तर जसपा अध्यक्ष महन्थ ठाकुर समूहका सांसद बिमलप्रसाद श्रीवास्तव भने पार्टीको विधिविधान अनुसार जसपाको ३२ सांसद मध्ये २० सांसदको बहुमत हस्ताक्षरबाट राजेन्द्र महतोलाई संसदीयदलको नेतामा चयन गरेको बताउँछन्।

प्रतिनिधिसभा पुर्नःस्थापना भएयता नयाँ सरकार गठनको निर्णायक शक्ति भएर पनि त्यो शक्ति प्रयोग गर्न नसकेको स्वीकार गर्छन् सांसद प्रदीप यादव। उनी भन्छन्, ‘प्रधानमन्त्री ओलीको असंवैधानिक कदम पछि पुर्नःस्थापना भएको संसदबाट हिमाल,पहाड तराई सबैको हित हुने सरकार गठन गर्नु पर्नेमा केही साथीहरुका कारण देशले यो विडम्वना भोग्नु परेको छ।’

‘स्वेच्छचारी प्रधानमन्त्रीलाई बचाउन प्रधानमन्त्री ओलीको निर्देशन अनुरुप चल्ने ती नेताहरु एमाले ह्न् कि जसपा?,’ उनले प्रश्न गरे।
पार्टीको विधान विपरित राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको समाचार आफूहरुले सञ्चार माध्यमबाट थाहा पाएको र बहुमत सांसदको हस्ताक्षर भन्ने कुरा किर्ते हस्ताक्षर भएको उनको दाबी छ।

यस्तोे हस्ताक्षरलाई संसद सचिवालयले नस्वीकार्ने उनको तर्क छ। पार्टीको सबै तहमा आफ्नो पक्षको बहमत भएकाले लोकतान्त्रिक पार्टीमा बहुमतको निर्णय अवैधानिक नहुने सांसद बिमलप्रसाद श्रीवास्तव बताउँछन्।

‘संसदीय दलको नेता भनेको पार्टीबाट निर्वाचित सांसदले चयन गर्ने हो। हाम्रो पार्टीको ३२ सांसद मध्ये २० जना सांसदको बहुमतबाट राजेन्द्र महतोलाई संसदीयदलको नेता चयन गरेको हुँदा ती हस्ताक्षर गर्ने सांसद र वास्तविक हस्ताक्षर पार्टी भित्र प्रष्ट रुपमा सार्वजानिक भएको छ,’ उनले भने।

उनले आजै सांसदको बहुमतको निर्णयबाट दलको नेता चयन भएको जानकारी संसद सचिवालयलाई गराउने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *