राष्ट्रियसभाको उपनिर्वाचनमा मतदाताले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने

डिसी नेपाल
२ जेठ २०७८ १८:५८
176
Shares

काठमाडौं । निर्वाचन आयोगले कोभिड–१९ महामारीको वर्तमान अवस्थामा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ ।

उक्त स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्री सहित दुर्इ जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना गर्ने व्यवस्था गरेको छ । मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नु अघि ७२ घण्टा अवधिभित्रको पीसीआर रिपोर्ट देखाइ साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

कोभिड संक्रमण देखिएका मतदाताका लागि छुटृै मतदानकेन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदानकेन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरु सबैले अनिवार्य रुपमा पीपीई को प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा २ मीटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस सिल्ड, पञ्जा र मास्क लगाउनु पर्नेछ । मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरी सकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरु र मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणना स्थलमा मतपेटिका खोल्नु अघि अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्था समेत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधानहरु उक्त स्वास्थ्य सुरक्षा मापदण्डमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.