कोरोना नियन्त्रणमा रामपुर नगरपालिकाको सहयोग
तानसेन । पाल्पाको रामपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्कालको लागि रु.१० लाख सहयोग गर्ने भएको छ । कोभिड नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि जिल्लाको कोभिड प्रयोगशाला तथा रामपुर अस्पताललाई रु. पाँच/पाँच लाख उपलब्ध गराउने भएको हो ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सङ्कटको परिस्थितिमा आर्थिक अभावका कारण थप जोखिम नभित्रियोस् भनेर सहयोग गर्ने निर्णय भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । जिल्लामा कोरोनाका बिरामी बढ्दो क्रममा रहेको र विभिन्न अस्पतालमा आर्थिक अभावका कारण अक्सिजन लगाएतका स्वास्थ्य सामग्री र उपकरण अभाव नहोस् भनेर नगरपालिकाले सहयोग गरेको नगरप्रमुख थापा बताउँछन् ।
नगरापालिकाले कोरोना सङ्क्रमणका बिरामीलाई अस्पतालसम्म पु¥याउने, ल्याउने तथा कोरोनाका कारण ज्यान गुमाएकाको शव व्यवस्थापनका निम्ति सवारी चालकको पारिश्रमिक निर्धारण गर्ने, सहयोगका निम्ति कालीगण्डकी फाउण्डेशनको एम्बुलेन्स र एउटा जीप तयारी अवस्थामा राखिने नगरप्रवक्ता हुमनाथ न्यौपानेको भनाइ छ ।
नगरपालिकाले हप्ताको दुई दिन आइतबार नगरपालिकाका विभिन्न वडा र बुधबार नगरपालिका परिसरमा एण्टीजेन परिक्षण गर्ने, निर्माणकार्यमा १५ जनाभन्दा बढी कामदार सहभागी हुन नपाइने व्यवस्था गरेको छ ।







डिसी नेपाल








Facebook Comment