भेरीमा भण्डारण गरियो लिक्विड अक्सिजन
बाँके । पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालमा जडान गरिएको अक्सिजन ट्याङकमा आज लिक्विड अक्सिजन भण्डारण गरिएको छ ।
अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित विरामीलाई अक्सिजन अभाव हुन नदिन जडान गरिएको अक्सिजन ट्याङ्कमा लिक्विड अक्सिजन भण्डारण गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताए ।
उनका अनुसार भारतबाट आज दिउँसो आइपुगेको ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकरबाट अस्पताल परिसरमा जडान गरिएको ट्याङ्कमा लिक्विड अक्सिजन भण्डारण गरिएको हो । ट्याङकरमा आएको २० हजार लिटर ‘लिक्विड अक्सिजन मध्ये १० हजार लिटर भेरी अस्पतालको ट्याङ्कमा भण्डारण गरिएको छ भने बाँकी १० हजार लिटर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि पठाइएको छ ।
अस्पतालको अक्सिजन ट्याङ्कमा अक्सिजन भण्डारण भएपछि कोरोनाका बिरामीलाई उपचार गर्नमा अव सहजता हुने डाक्टर थापाको भनाई छ । कोरोना दोस्रो लहरमा विरामीलाई अक्सिजन अभाव भएपछि भेरी अस्पतालमा २० हजार लिटर अक्सिजन लिक्विड भण्डारण क्षमताको अक्सिजन ट्याङ्क जडान गरिएको हो ।
कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि यो समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
भेरी अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । भेरी अस्पतालमा दिनमा २ सय ५० देखि ३ सय थान अक्सिजन सिलिन्डर खपत भइरहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. थापाले बताए ।
उनका अनुसार, सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ वटा ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकोमा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत पनि बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् ।
एउटा अक्सिजन सिलिन्डरका लागि रु। ९ सय १५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा. थापाले बताए ।







डिसी नेपाल








Facebook Comment