नेता थापाको उपचार खर्च बिएण्डसी मेडिकल कलेजले बेहोर्ने
काठमाडाै। विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले बेहोर्ने जनाएको छ। उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत छन्।
स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उहाँलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षामा भर्ना गरिएको छ। उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियानसमेत शुरुआत गरेको बताइएको छ।
मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसेवी थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्तिमार्फत जानकारी दिएको छ।
कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा जारी विज्ञप्तिमा स्वास्थ्योपचार रकमका अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत भई आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख छ।
विज्ञप्तिमा गणतन्त्र स्थापनार्थ एवम् सामाजिक आन्दोलनमा थापाले पु-याउनुभएको अथक योगदान उच्च छ भन्दै कार्यकारी निर्देशक प्रसाईँले भनेका छन्, “गणतन्त्र स्थापनामा लाग्नु भएका असल सामाजिक अभियन्ता तथा तत्कालीन विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी मेडिकल कलेजले बेहोर्ने छ। म उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु। रकमका अभावमा अकालमा कसैले मृत्युवरण हुन नदिन म आफ्नोे क्षमताले भ्याएसम्म सहयोग गर्छु। मेरा लागि मानव सेवा नै धर्म हो। ”
गणतन्त्र स्थापनामा सबै नेपालीको भूमिका ,साथ र सहयोग उत्तिकै रहेको उल्लेख गर्दै विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले गणतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने ज्ञातअज्ञात शहीदमा श्रद्धासुमनसमेत अर्पण गरेका छन्। उनले गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपालको यात्रामा लाग्न पनि राजनीतिक दललाई विज्ञप्तिमार्फत आह्वान गेका छन्।







डिसी नेपाल








Facebook Comment