दृष्टिविहीनले सगरमाथाको सफल आरोहण गरेर रेकर्ड बनाए
काठमाडौं। चीनका दृष्टिविहीन आरोही झांग होंगले सगरमाथाको सफल आरोहण गरेर रेकर्ड बनाएका छन् । उनले सगरमाथाको दक्षिणी मोहडा अर्थात नेपालतर्फबाट सगरमाथाको सफल आरोहण गरेका हुन् । यससँगै ४६ वर्षीय झांग सगरमाथाको सफल आरोहण गर्ने पहिलो एसियाली र विश्वमा तेस्रो दृष्टिविहीन बनेका छन् ।
‘तपाइँ अपांग हुनुहुन्छ वा सामान्य हुनुहुन्छ भन्ने कुराले वा तपाइँले आँखाको दृष्टि गुमाउनुभएको छ वा तपाइँसँग हात वा खुट्टा छैन भन्ने कुराले कुनै फरक पार्दैन । तपाइँसँग बलियो सोच छ भने केही फरक पर्दैन । तपाइँले ती काम गर्न सक्नुहुन्छ जुन काम अरुले तपाइँले गर्न सक्नुहुन्न भन्ने सोच्छन्’ झांगले समाचार एजेन्सी रोयटर्ससँग भने ।
झांगले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण ३ जना हाइ अल्टिच्युड गाइडहरुको साथमा मे २४ मा पूरा गरेर बिहीबार बेस क्याम्पमा फर्केका छन् । दक्षिण पश्चिमी चिनियाँ राज्य चौंगकिंगमा जन्मिएका झांगले २१ वर्षको उमेरमा ग्लोकोमाका कारण आँखाको दृष्टि गुमाएका थिए । झांग २००१ मा सगरमाथाको सफल आरोहण गरेका अमेरिकी आरोही एरिक वेहेनमेयरबाट प्रभावित भएर आफ्ना माउन्टेन गाइड साथी कियाङ जीसँग प्रशिक्षण लिन थालेका थिए ।
‘यद्यपि म निकै डराइरहेको थिएँ किनकि म देख्न सक्दिनथें कि म कहाँ हिँडिरहेको छु र मैले आफ्नो गुरुत्वाकर्षणको केन्द्र पत्ता लगाउन सकिरहेको थिइन त्यसैले कहिलेकाहीँ म लड्थें’ झांगले भने ‘तर मैले सोचिरहन्थें कि यो जति कठिन भए पनि मैले यी कठिनाइहरुको सामना गर्नुपर्छ किनकि यो आरोहणकै एक हिस्सा हो । त्यहाँ कठिनाइ र खतराहरु हुन्छन् र यही नै आरोहणको अर्थ हो ।’







डिसी नेपाल








Facebook Comment