आज इजरायल र प्यालेस्टाइनबीच फेरि हिंसा हुन सक्ने, हमासले दियो रकेट आक्रमणको धम्की
काठमाडौं। इजरायलमा नयाँ प्रधानमन्त्री बनेलगत्तै प्यालेस्टाइनी अतिवादी समूह हमासले इजरायलमाथि फेरि रकेट आक्रमण गर्ने चेतावनी दिएको छ । इजरायली यहुदीहरुले जेरुसेलममा फ्ल्याग मार्च निकाल्ने घोषणा गरेसँगै यहाँ फेरि युद्धको त्रास बढेको हो । यहुदीहरुले आज अर्थात १५ मार्चका दिन दिउँसो मार्च निकाल्ने तयारी गरेका छन् । मार्चमा यहुदीहरु हातमा इजरायलको झण्डा लिएर नाचगान गर्दै जेरुसेलमको दमास्कस गेटसम्म जाने र मुस्लिम बस्ती भएको क्षेत्र हुँदै अल अक्सा मस्जिदको पश्चिमी भित्तासम्म जानेछन् ।
खासमा यो मार्च मे महिनामै हुनुपर्ने थियो तर त्यतिबेला प्यालेस्टाइन र इजरायलबीच हिंसा भड्किएका कारण स्थगित गरिएको थियो । १० जुनका दिन पनि यसलाई अनुमति दिइएको थिएन तर इजरायली निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पद छाड्दै गर्दा यो विवादित जेरुसेलम मार्चलाई अनुमति दिएर गए । जेरुसेलम पोस्टका अनुसार नयाँ प्रधानमन्त्री नफ्ताली बेनेटको प्रशासनले पनि यो विवादित मार्चलाई अनुमति दिएको छ । र, प्यालेस्टाइनी अतिवादी समूह हमासले अल अक्सा मस्जिदको रक्षाको लागि इजरायलमाथि रकेट आक्रमण गर्ने चेतावनी दिएको छ ।
हरेक वर्ष निकालिने यो जेरुसेलम मार्चमा प्यालेस्टाइन र इजरायलबीच तनाव बढ्छ तर यस वर्ष हिंसा भड्किने आशंका यसकारण पनि बढी छ किनकि एक महिनाअघि मात्रै इजरायल र प्यालेस्टाइनबीच युद्धको अवस्था आएको थियो । यो हिंसामा २६२ जनाको ज्यान गएको थियो । हिंस्रक भिडन्त रोकिएको १ महिना पूरा नहुँदै मार्च निकाल्ने तयारी गरिएपछि प्यालेस्टाइनको उग्रवादी संगठन हमासले यदि जेरुसेलममा मार्च निकालियो भने अल अक्सा मस्जिदको रक्षाको लागि रकेट आक्रमण गर्ने चेतावनी दिएका कारण पनि हिंसाको त्रास बढेको छ ।
१५ जूनमा यहुदीहरुले मार्च निकाल्ने तयारी गरेपछि हमासले एक पटक फेरि आक्रमणको चेतावनी दिएको छ । हमासले इजरायलले यदि जेरुसेलममा कुनै उक्साउने कारवाही गर्यो भने आफूले आक्रमण सुरु गर्ने बताएको छ । जेरुसेलम मार्चको जवाफमा हमासले अरब मूलका मुसलमानहरुलाई पनि जेरुसेलमको सडकमा निस्किन भनेको छ । हमासले आफ्नो बयानमा भनेको छ ‘मंगलबार (१५ जून) अल अक्सा मस्जिदसँग हाम्रो सम्बन्ध बलियो बनाउने दिन हुनेछ । यो यहुदीहरुको कब्जाविरुद्ध हाम्रो आक्रोश र संघर्षको दिन हुनेछ ।’







डिसी नेपाल








Facebook Comment