औषधि गर्न ल्याएको पैसा चोर्न अस्पतालकै कर्मचारीद्वारा कोरोना संक्रमित बिरामीको हत्या
काठमाडौं। आफू कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा उपचारको लागि आएकी एक बिरामीले आफ्नो उपचारको लागि साथमा ल्याएको पैसा र उनको मोवाइल फोन चोर्नका लागि अस्पतालकै एक कर्मचारीले ती बिरामी महिलाको घाँटी थिचेर हत्या गरिएको घटना सार्वजनिक भएको छ । भारतको चेन्नइको राजीव गान्धी गभर्नमेन्ट जनरल हस्पिटलमा १५ दिनदेखि कोरोना वार्डबाट हराइरहेकी बिरामीको सडेको शव भेटिएको एक हप्तापछि पुलिसले उनको हत्या भएको खुलासा गरेको हो ।
टाइम्स अफ इण्डियाका अनुसार अस्पतालमा करारमा काम गर्ने एक महिला कर्मचारीले उनको हत्या गरेको पाइएको छ । पुलिसले ती महिला कर्मचारीलाई मंगलबार पक्राउ गरेको छ । मृतकको पोस्टमार्टममा उनको हत्या भएको पुष्टि भएको छ र आरोपी महिलाले पनि आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । ४१ वर्षकी मृतक एम सुनिताको मोवाइल फोन आरोपी महिला ४० वर्षकी रति देवीको साथबाट बरामद भएको छ ।
अनुसन्धानका क्रममा पुलिसलाई केही कर्मचारी र बिरामीहरुले पछिल्लो पटक सुनितालाई रति देवीले अस्पतालको २६८ नम्बर वार्टबाट ह्वीलचेयरमा बाहिर लगेको देखेको बताएपछि पुलिसले रति देवीमाथि अनुसन्धान केन्द्रित गरेको थियो । पहिले रति देवीले आफूले सुनितालाई स्क्यानिङ युनिटमा लगेपछि मे २३ का दिन राती वार्डमा लगेर छोडेको र भोलिपल्ट अरु स्टाफहरुसँगै आफूलेपनि हराएकी सुनितालाई खोजेको बताएकी थिइन् ।
रति देवीले आफूलाई पैसाको अत्यन्तै आवश्यक परेकोले सुनिताको हत्या गरेको बताएकी छिन् । रति देवीका अनुसार उनले सुनिताको ब्यागमा ५०० का नोटहरु देखेकी थिइन् र उनले यो पैसा चोर्ने निर्णय गरेकी थिइन् । त्यसपछि उनले सुनितालाई स्क्यान सेन्टरमा लैजाने भनेर ह्वीलचेयरमा राखेर लिएर गएकी थिइन् । उनले सुनितालाई इमरजेन्सी लिफ्टबाट आठौं तलामा लगेर घाँटी थिचेर मारेपछि एउटा कोठाभित्र छाडेकी थिइन् । त्यसपछि उनले सुनिताको मोवाइल र पैसा चोरेकी थिइन् ।
सुनिताका पति मौली आन्ध्र प्रदेशको एक निजी इन्जिनियरिङ कलेजमा प्रोफेसर छन् । मे २३ का दिन कोरोना रिपोर्ट पोजेटिभ आएपछि सुनितालाई अस्पताल भर्ना गरिएको थियो । भोलिपल्ट मे २४ का दिन श्रीमतीलाई खाना लिएर गएका मौलीले श्रीमती हराएको थाहा पाएका थिए । त्यही दिन अस्पतालको आउटपोस्ट पुलिस स्टेशनमा मौखिक उजुरी दिएका मौलीले मे ३१ का दिन औपचारिक उजुरी दिएका थिए ।
सुनिता हराएको केही दिनपछि अस्पतालका हाउसकिपिङ स्टाफले अस्पतालको आठौं तलाको इबी रुमबाट दुर्गन्ध आएको बताएका थिए । त्यसपछि इबी रुममा गएर पुलिसले सुनिताको सडेको शव बरामद गरेको थियो । उनी सुनिता भएको मौलीले पुष्टि गरेका थिए । पुलिस डेप्युटी कमिश्नर एस महेश्वरनका अनुसार घाँटी थिचेर मारेका केसमा घाँटीको हड्डी भाँचिने गरेको भए पनि सुनिताको हड्डी भाँचिएको थिएन । उनका अनुसार सुनिता कोरोना संक्रमित भएको र उनको फोक्सो संक्रमित हुँदा उनलाई पहिल्यै सास फेर्न समस्या भएकोले रति देवीले थोरै बल लगाउँदा पनि सुनिताको मृत्यु भएको थियो ।







डिसी नेपाल








Facebook Comment