पुस्तकालय पुग्दैनन् पाठक धमाधम बन्द हुँदै – Dcnepal

पुस्तकालय पुग्दैनन् पाठक धमाधम बन्द हुँदै

पहिले घुईंचो लाग्ने पर्साको वीरगन्जका पुस्तकालय यतिवेला पाठकको कमीका कारण धमाधम बन्द भइरहेका छन्। लामो इतिहास बोकेका यहाँका पुस्तकालयहरु अहिले धमाधम बन्द हुँदै गएका हुन्।

आठवटा सम्म रहेका वीरगन्जका पुस्तकालयहरु अहिले पुस्तक अध्ययनकर्ता ( पाठक ) को कमिका कारण बन्द हुँदै गएको पुस्तकालय संचालक वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ। युवा पुस्ताको पुस्तक प्रतिको विकर्षणले पुस्तकालय चल्न नसकेको पुराना पुस्तक अध्ययनकर्ताले पनि बताए। प्रवृधिसँगै संजाल र नेटको दुनियामा युवापुस्ता हराउँदा पुस्तक प्रतिको आकर्षक पनि हरायो उनीहरुले भने।

पाँचवटा पुस्तकालय त अहिले बन्द भई ३ वटा मात्रै अब सञ्चालनमा छन्। विगतलाई हेर्ने हो भने शिक्षाको पहुँचसँगै वीरगंजमा पनि पुस्तक अध्ययनकर्ताहरु निकै थिए। अध्ययन अध्यापनमा नयाँ नयाँ प्रयोग बढ्दै आएपछि र प्रवृधिको पनि आगमन भयो। त्यस यता भने पुस्तक अध्ययनकर्ताहरु पुस्तकालय तर्फ देखिन छोडेको वीरगन्ज पब्लिक कलेजका संचालक डा.दीपक शाक्यले बताए।

‘वीरगन्जको सबैभन्दा पुरानो त्रिजुद्ध माध्यमिक विद्यालय स्थापना भएसँगै वीरगन्जमा एकपछि अर्को विद्यालयहरु स्थापना भए। विद्यालय संख्या बढ्दै जाने क्रममा शिक्षा आर्जनमा पनि स्थानीय युवाहरुको आकर्षण बढ्दै गयो। अनि पुस्तकालयहरु प्नि खुल्दै गए। सबै किताबहरु किनेर विद्यार्थीहरुले पढ्न नसक्ने भएपछि पुस्तकालयमा विद्यार्थी किताब खोज्दै पुग्दा र गहन अध्ययन गर्ने पनि पुस्कतालय चाहार्न पुग्दा पुस्ताकलयहरु राम्रो अवस्था थिए उनले भने। पुस्तकालयमा उतिबेला स्थान नपाएर मारामार हुन्थ्यो। पालो कुर्नु पर्दथ्यो, शिक्षा हासिल गरेका अहिलेका बरिष्ठहरु पनि ती पुस्तकालयमा नपुगेको सायदै हुन्थ्यो,’ डा. शाक्यले थपे।

‘विद्यालयको विकासक्रसंगै वीरगंजमा २०२७ सालमा स्थानीयको सहयोगमा जुनेली पुस्तकालय सञ्चालनमा आयो। अर्थ अभाव र अभिभावकत्व नभएकाले २०३८ सालमा बन्द भएको वीरगन्जका अगुवाहरुले बताए। योसँगै २०२८ सालमा गहवामा सुरु भएको आदर्श पुस्तकालय पछिल्लो समय २०५७ मा आएर पुस्तकालय भवनको अभावमा बन्द भयो,’ उनीहरुले भने।

उतिबेला बन्द भएका यी पुस्तकालयको सम्झना अझै ताजा छ। कारण थियो पुस्तकालयमा उतिबेला स्थान नपाएर मारामार हुन्थ्यो। पालो कुर्नु पर्दथ्यो शिक्षा हासिल गर्ने अहिलेका महारथीहरु समेत ती पुस्तकालयमा पुगेकै हुन्थे विगत सम्झदै डा. शाक्यले बताए।

अहिले पुस्तकालयहरु पनि अपग्रेड हुन सकेनन्। युवाहरु पनि इन्टरनेटको सहारा लिन थाले। धेरैजसो युवा साँझपख बरु यतिकै बरालिएर हिँडेका छन्। कोही साँझ पर्ना साथ होटल चहार्ने गर्छन् समय निकै परिवर्तन भयो अगुवाहरुले बताए।

२०४० सालमा अलखिया मठमा खुलेको अलख पुस्तकालय पनि भवन अभावमा २०६२ सालमा बन्दै भयो। हाल उक्त ठाऊँमा भवन भए पनि पुस्तकालय सञ्चालन हुन सकेको छैन। पछिल्लो समय वीरगन्ज उद्योग वाणिज्य संघले आफ्नै भवनमा २०५९ सालतिर सञ्चालनमा ल्याएको पुस्तकालय गएका ३ महिनादेखि बन्द छ।

८ कक्षाभन्दा माथिका विद्यार्थीहरुलाई सहुलियत हुने गरी विभिन्न टेष्ट बुकहरु राखिएको भए पनि ८ वर्ष पहिला दिनकै एक सयजना आउने पुस्तक प्रेमीहरु अहिले दिनमा एकजना पनि नआउने गरेकाले बन्द गर्नु परेको वीरगंज उद्योग वाणिज्य संघका कार्यकारी सचिव सुनिल कुमार कण्ठले बताए। वीरगंजमा मात्र हैन, केन्द्रीय लाईब्रेरिहरुमा समेत इन्टरनेटले पुस्तकालयप्रतिको आकर्षण घटाएको छ,’ उनले तर्क गरे।

उता विद्यार्थी जागरण मञ्च ( विजाम ) ले २०६९ सालमा अमेरिकन दूतावासको सहयोगमा नेशनल ट्रेडिङ्ग अगाडि सञ्चालनमा ल्याएको सामुदायिक पुस्तकालय भवण जिर्ण भएको भन्दै जेसिस मार्फत सञ्चालन गर्दै आएको सामुदायिक पुस्तकालय समेत २ वर्षदेखि बन्द छ। जेसिसले चलाउन नसकेर बन्द गरिएको जनाइएको छ।

‘सञ्चालन बखत मेडिकल, व्यवस्थापक र प्लस टु सँगै विद्यालयका ८ कक्षामा पढ्ने विद्यार्थीहरु समेत पुस्तकालयमा अध्ययन गर्न आउँथे। पुस्तकालयमा मेडिकल, साईटिष्ट, राजनीतिज्ञ लगायतका लागि पुस्तकहरु प्रसस्तै थिए। तर आर्थिक भार बढी भएकाले सञ्चालन गर्न नसकिएको पूर्व अध्यक्ष श्रेष्ठले दावी गरे।

‘लाईब्रेरी सञ्चालनका लागि धेरै महंगो पुस्तकहरु चाहिन्छ। अपग्रेड गरिरहनु पर्छ। त्यो हुन नसकेकाले बन्द गरियो। त्यहाँ भएको पुस्तकहरु केही कलेजहरुलाई दिएका छौँ,’उनले बताए ।

अहिले वीरगन्जमा तीनवटा मात्र

वीरगंज महानगरपालिकामा हाल तिनवटा मात्रै पुस्तकालयहरु सञ्चालनमा रहेका छन्। वीरगंज महानगरपालिकाको एउटा, ठाकुरराम बहुमुखी क्याम्पसको अर्को र भारतीय दुतावासको प्राङ्गणमा रहेको दूतावास भित्रको पुस्तकालय मात्रै अहिले पर्साको वीरगन्जमा संचालित लाईव्रेरी हुन्।

२०४२ सालमा सो समयमा वीरगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विमल कुमार श्रीवास्तवले नगरसभा गृह छेऊमा पुस्तकालय स्थापना गराएको वीरगन्ज महानगरपालिकाले जनाएका छ। नयाँ नयाँ पुस्तकहरुको अभावले यहाँ पनि पुस्तक पढ्नेहरुको क्रम घट्दो रहेको छ। वीरगंजमा पढ्ने वातावरण बनाउनका लागी भए पनि लाईब्रेरी जरुरी रहेको महानगरको भनाइ छ।

आफ्नो ठाउँ वा देश विदेशको ज्ञान हासिल गर्नका लागि विश्वमा पुस्तक पढ्नकै लागि सरकारले पनि पुस्तकालय स्थापना गरिदिएको हुन्छ। तर वीरगंजमा स्थानीय सरकारको पहलमा स्थापना भएको लाईब्रेरी पनि स्तरीय नभएकाले समस्या छ। प्रजातन्त्रको बहालीसँगै ठाकुरराम बहुमुखी क्याम्पसमा २०४६ सालतिर दामोदर सरको पालामा क्षेत्रीय पुस्तकालय सञ्चालनमा आएको सो समयमा विद्यार्थीहरु बताउँछन्।

जुन अहिले पनि नियमित रुपमा सञ्चालनमा नै छ। तर किताब चोर्ने विद्यार्थीको प्रवृतिले अपग्रेड हुन नसकेको स्थानीय अगुवाहरुले बताए। पुस्तकारलयमा पढ्न नजाने कारण बारे पुस्तकालयमा नयाँ नयाँ पुस्तकहरु नराख्ने गरेकाले पनि भएको हुन सक्ने उनीहरुको तर्क छ।

प्रविधिको पहुँच, पुस्तक चोरी र अपग्रेड नुहुनु प्रमुख कारण

पुस्तकालयमा अध्ययन गर्न पुगेकालाई बिना रोकटोक सजिलै पढ्न सक्ने अवस्था भए पनि स्वयम् इमान्दार नहुँदा पुस्तकको संख्या घट्दै जानु एउटा समस्या हो। त्यहाँ रेखदेख गर्नेलाई पुस्तक पढ्नेले कम आँकलन गर्नु आगामी पुस्ताका लागि पुस्तकालय संख्या सुक्दै जाने प्रमुख कारण भएको ठाकुराम बहुमुखी क्याम्पस व्यवस्थापक संकायमा अध्ययनरत सर्लाहीका निरंजन यादवले बताए।

एम वि केडिया डेन्टल कलेजमा अध्ययनरत सिवानी पटेलले पनि आफूहरुलाई चाहिनेभन्दा पनि पुराना किताबहरु मात्रै बढि हुँदा पुस्तकालयमा आउन मन नलाग्ने बताइन्।

‘खासमा पुस्तकालयमा पुरानो कुराको मात्र जानकारी प्राप्त हुने भएकाले पनि नयाँ कुराको ज्ञान चाहने युवा पिँढी यता आउन उति रुचाउँदैनन्। बाइलोजी, साइन्स जस्ता बिषयका पुस्तक नयाँ–नयाँ खोज लगायतका हुनु पर्छ। तब यस्ता किताबहरु हुने हो भने अझै पनि सबै पुस्तक किन्न नसक्ने युवाहरु यता आउने थिए,’ उनले भनिन् ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमै अध्ययनरत अर्का छात्र सुरेश यादवले आफू आयोगको तयारी गरिरहेको तर यहाँ भएका पुरानो पुस्तकबाट पनि केही मिल्ने भएकाले अध्ययन गर्न आएको बताए। ‘शान्त वातावरण र बिना कुनै रोक टोक राष्ट्रिय स्तरको हरेक पत्रपत्रिका पढ्न पाउने भएकाले यहाँ आउने गरेको उनले बताए। कतिलाई यो कुरा थाहा छ कि छैन। तर म चाही यहाँ आउँछु,’ उनले भने।

ठाकुरराम वहुमुखि क्याम्पसको क्षेत्रीय लाईब्रेरिमा पुस्तक चोर्ने बानीले अहिले पुस्तक अपग्रेडिङ्ग हुन नसकेको डा. शाक्यले तर्क गरे। उनी ठाकुरराम बहुमुखी क्याम्पसका पनि प्राध्यापक हुन्। खराब आचरण भएकाले चोर्छन्। किताब चोरे भन्दैमा पुस्तकालय बन्द गर्नु भन्दा निगरानी चाही बढाउनु पर्ने हुन्थ्यो उनले तर्क गरे। यो नेपाल भारतको सहयोगमा सञ्चालन गरेको देशकै ठूलो पुस्तकालय थियो।

यस्तै पुस्तकालय भारतीय महावाणिज्य दुतावस वीरगंजले पनि राखेको छ। तर दुतावास कार्यालय भित्र सीमित रहेकाले पढ्न कै लागि त्यति धेरै मानिस त्यहाँ जाने कुरा हुँदैन। फेरि दूतावास भित्र छ भन्दा कतिपय मानिस दूतावासको प्राँगणमा जान अरुची राख्ने पनि हुन्छन्,’ शाक्यले भने। काठमाडौँ जस्तै वीरगंज मै व्यवस्थित र अपग्रेड पुस्तकालय भए बरालिएका युवाहरु पुस्तकालयमा पुग्ने वातावरण बनाउन सकिन्थ्यो डा शाक्यले बताए।

युवाका रोजाइमा प्रेमिल पुस्तक

प्रायः सबै त हैन, तर यस्ता पुस्ता पनि छन्, जो प्रेम कहानी बाहेकका किताबको खोजी नै गर्दैनन्। पुस्तकालयमा रहेका पुस्तकहरु पुराना हुन्। तर पनि आवश्यताका धेरै छन् पढन् चाहनेहरुका लागि। बढी नयाँ नयाँ पुस्तक खोज्ने गरेकाले यहाँ पुस्तक पढ्न आउनेको संख्या घटेको छ। नयाँ बजारमा आउने साथ पुस्तक खरिद गरी पुस्तकालयमा राख्न पनि उति सहज छैन वीरगंज महानगरपालिका पुस्तकालयका बुधम महर्जनले भने।

पुस्तकालय टिकाइ राख्ने उपाय

पुस्तक चोरी हुनबाट जोगाउन पुस्तकालयको व्यवस्थापन नै चुश्त राख्नु पर्ने प्रमुख कारण बनेको छ। दोस्रो युवा पुस्तालाई पुस्तकालय र त्यहाँ पाइने पुस्तकहरुको बारेमा चेतना जगाउन पनि आवश्यक छ।

पढ्ने बानी नभएकाहरुलाई यसरी पढ्न प्रेरित गर्दै पुस्तकालयसम्म तान्न सकियो भने विस्तारै पुस्तक पढ्ने संख्या बढ्दै जान सक्ने महानगरको पुस्तकालयका महर्जनले बताए। अर्को प्रमुख पक्ष भनेको पुस्तकालयमा नयाँ पुस्तकहरुको पहुँच पनि बढाउन उत्तिकै आवश्यक यहाँका बुद्धिजिबीहरुको भनाइ छ।

सञ्चारिका समूह

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो