महन्थ समूहले किर्ते कागजको भरमा निर्वाचन आयोगमा निवेदन दिएको उपेन्द्र समूहको दावी
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को विवादका बीच एक अध्यक्ष महन्थ ठाकुर समूहले किर्ते कागजको भरमा निर्वाचन आयोगमा निवेदन दिएको अर्का अध्यक्ष उपेन्द्र यादव समूहले दावी गरेको छ।
महन्थ ठाकुरले यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरुलाई हटाएर आफू निकटलाई मनोनित गर्दै निर्वाचन आयोगमा विवरण अध्यावधिकका लागि निवेदन दिएका छन्। गत पुस ७ गतेको कार्यकारिणी समितिले पत्राचार र कार्यकारिणी समिति सदस्य मनोनित गर्ने अधिकार महन्थ ठाकुरलाई दिएको भन्दै सो मनोनयन गरिएको दावी छ।
तर जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै पुस ७ मा ठाकुरलाई त्यस्तो अधिकार दिने कुनै निर्णय नभएको भन्दै ठाकुर समूहले किर्ते काम गरेको आरोप लगाएका छन्। उनले ठाकुर समूहले किर्ते जालसाजी काम गरेको भन्दै त्यसको भत्र्सनासमेत गरेका छन्।
५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा परेपछि ठाकुरले आफ्नो बहुमत पुर्याउन उपेन्द्र यादव निकटका नेताहरुलाई हटाएर आफू निकट नेताहरुलाई मनोनित गरेका छन्। उता उपेन्द्र समूहले जसपामा आफूहरुको निर्णय अधिकारिक रहेको भन्दै शुक्रबार दावी पेश गरेका छन्।
ओली सरकारलाई हेर्ने दृष्टिकोणलाई लिएर जसपामा शुरु भएको विवाद महन्थ समूह सरकारमा सहभागी भएपछि उत्कर्षमा पुगेको छ। तत्कालिन संघीय समाजवादी राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर बनेको जसपा एक वर्ष भित्रै फुटको संघारमा छ। गतिविधि दुई दलको जस्तो भए पनि पार्टी विभाजनको औपचारिक घोषण भने भएको छैन।

No ads found for this position


डिसी नेपाल
Facebook Comment