एमाले कार्यदलको बैठक सकियो, सकरात्मक भएको प्रतिक्रिया
काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानका लागि गठन भएर निष्क्रिय भएको कार्यदलको बैठक सोमबार बसेको छ। गत जेठ ७ पछि पहिलो पटक कार्यदलको बैठक बसेको हो। सोमबार साँझ सिंहदवारमा भएको कार्यदलको बैठक सकरात्मक रहेको कार्यदलका सदस्यहरुले प्रतिक्रिया दिएका छन्।
एक सदस्यले भने, ‘आजको बैठकमा विषय प्रवेश भएन। खाली वतावरण सकरात्मक बनाउने विषयमा केन्द्रित भयौं। भोलि फेरि बैठक बस्छौं।’ आन्तरिक विवाद चर्किएका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तापछि दुबैतर्फबाट पाँच पाँच जना सदस्य रहने गरी सँयुक्त कार्यदल गठन गरिएको थियो। कार्यदलको दुई दिन बैठक पनि भएको थियो।
तर, जेठको पहिलो हप्ता सरकार गठन प्रक्रियामा माधव समूहका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेपछि ओलीले कार्यदलमै रहेका नेताहरुलाई कारबाही गरेका थिए। सो कारबाहीपछि कार्यदल निष्क्रिय भएको थियो।
तर, योबीचमा भएका अनौपचारिक वार्तापछि फेरि कार्यदललाई ब्यूउँताएर विवाद समाधानको प्रयास थालिएको हो। वरिष्ठ नेता माधव नेपालकै चाहाना बमोजिम कार्यदल ब्यूउँताइएको हो। यसअघि माधव समूहले बहिस्कार गरेको बालुवार एमाले केन्द्रिय कमिटी बैठकले सोमबारसम्म सर्वोच्च अदालतमा दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको थियो। तर, माधव समूहले हस्ताक्षर भने फिर्ता नलिने बरु कार्यदल ब्यूउँताएर छलफल गर्ने जवाफ दिएको थियो। त्यसपछि सोमबार कार्यदल ब्यूउँताएर छलफल अगाडि बढाइएको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमाथिको बहस सोमबारै सकिएको छ। फैसला २८ गते आउनेछ। त्यसअघि नै एमालेमा विवाद समाधानका लागि पहल भएको हो। सो रिटमा माधव समूहका २३ जना सांसदकोसमेत हस्ताक्षर छ।
कार्यदलमा नेपाल पक्ष बाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल , सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् भने ओली पक्षबाट संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङको नेतुत्वमा, उपमहासचिब विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र बिष्णु रिमाल छन्।







डिसी नेपाल








Facebook Comment