सर्वोच्चको फैसला अगाडि नै विवाद समाधान गर्ने सहमतिपछि ब्यूँतियो कार्यदल

डिसी नेपाल
२२ असार २०७८ ७:४९
352
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतले सोमबार फैसला सुनाउने तय भएको छ। सर्वोच्चको फैसला अगाडि नै पार्टीको विवाद समधान गर्ने गरी सत्तारुढ दल एमालेका दोस्रो तहका नेताहरुले घनिभूत छलफल गरिरहेका थिए।

यो बीचमा उनीहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसँग पटक पटक छलफल गरेका थिए। आइतबार वरिष्ठ नेता नेपालसँगको भेटपछि विवाद समाधानका लागि पहल गरिरहेका दुवै पक्षका नेताहरु उत्साहित बनेका थिए।

उक्त भेटमा अध्यक्ष ओली समूहका नेता सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले नेता नेपाललाई भेटेर विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेका थिए। उनीहरुले

उनीहरुले पार्टी एक छ र एक ढिक्का रहनेछ भनेर दुवै अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालले हस्ताक्षर गरेर वक्तव्य जारी गर्न आग्रह गरेका थिए। उक्त प्रस्तावमा नेता नेपालले साथीभाइसँग सल्लाह गर्छु भन्ने प्रतिक्रिया दिएका थिए।

सोही दिन नेता नेपालले आफू निकट उपाध्यक्ष भीम रावललाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग संवाद गर्न बालुवाटार पठाएका थिए। त्यहाँ अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच झण्डै दुई घण्टा छलफल भएको थियो।

पार्टी एकढिक्का रहेको सन्देश दिने गरी वक्तव्य जारी गर्ने विषयमा आफू सकारात्मक रहेको तर त्यसका लागि विवाद समाधान गर्न गठित कार्यदल ब्यूँताउनु पर्ने नेता नेपालको मागप्रति अध्यक्ष ओली सकरात्मक भएपछि कार्यदल गठन भएको हो।

स्रोतका अनुसार सर्वोच्च अदालतको फैसला अगावै पार्टी एकताबद्ध बनाउने सहमतिपछि कार्यदल ब्युँताइएको हो। सोमबार बसेको कार्यदलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् भने आज दिउँसो एक बजे बैठक बस्ने तय भएको छ।

सर्वोच्चको फैसला अगाडि नै पार्टी एकतको सन्देश दिने सहमतिको अर्थ कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिने भन्ने हो।

‘जे विषयले गर्दा पार्टीभित्र विवाद उत्पन्न भएको थियो, त्यो त समाधान भइसक्यो। पार्टी पुरानै अवस्थामा फर्किइसकेको छ। पदाधिकारीसहित केन्द्रीय कमिटी सक्रिय भएको छ,’ एक नेताले भने, ‘अध्यक्षले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम पूरा गर्नु भएको छ। अब उहाँहरु (माधव नेपाल समूह) ले गर्नुपर्ने काम मात्र बाँकी छ। त्यो भनेको आफ्नो सरकारका विरुद्ध विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता हुने हो।’

त्यसका लागि नेपाल समूह तयार भएपछि कार्यदल ब्यूँताइएको हो। स्रोतका अनुसार अब केही दिनभित्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले पार्टी एकताको सन्देश दिने गरी संयुक्त वक्तव्य जारी गर्नेछन्। त्यसको ड्राफ्ट कार्यदलले बनाउने छ।

यो बीचमा दुवै समूहका दोस्रो तहका नेताले एकताका निम्ति दुवै नेतालाई दबाव दिइराखे। अध्यक्ष ओलीलाई सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल तथा शंकर पोखरेल र वरिष्ठ नेता नेपाललाई सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले एकतका लागि दबाव दिएका थिए।

यी नेताहरु अनौपचारिक रुपमा निरन्तर भेटघाट र छलफलमा थिए। दोस्रो तहका नेताको दबावपछि कार्यदल मार्फत समाधान खोज्ने सहमति भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.