एमाले कार्यदल बैठक भोलि फेरि बस्नेगरी सकियो, सहमति भएन

डिसी नेपाल
२२ असार २०७८ १७:१४
384
Shares

काठमडौं । नेकपा एमाले कार्यदलको बैठक मंगलबार सहमतिबिनै सकिएको छ। एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकमा पार्टी भित्रको विवादबारे विषयगत छलफल सुरु भएपनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए । बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सर्वोच्चको फैसला अगाडि नै पार्टीको विवाद समधान गर्ने गरी एमालेका दोस्रो तहका नेताहरुले घनिभूत छलफल गरिरहेका थिए।

यो बीचमा उनीहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसँग पटक पटक छलफल गरेका थिए। आइतबार वरिष्ठ नेता नेपालसँगको भेटपछि विवाद समाधानका लागि पहल गरिरहेका दुवै पक्षका नेताहरु उत्साहित बनेका थिए।

उक्त भेटमा अध्यक्ष ओली समूहका नेता सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले नेता नेपाललाई भेटेर विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेका थिए।

उनीहरुले पार्टी एक छ र एक ढिक्का रहनेछ भनेर दुवै अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालले हस्ताक्षर गरेर वक्तव्य जारी गर्न आग्रह गरेका थिए। उक्त प्रस्तावमा नेता नेपालले साथीभाइसँग सल्लाह गर्छु भन्ने प्रतिक्रिया दिएका थिए।

सोही दिन नेता नेपालले आफू निकट उपाध्यक्ष भीम रावललाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग संवाद गर्न बालुवाटार पठाएका थिए। त्यहाँ अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच झण्डै दुई घण्टा छलफल भएको थियो।

पार्टी एकढिक्का रहेको सन्देश दिने गरी वक्तव्य जारी गर्ने विषयमा आफू सकारात्मक रहेको तर त्यसका लागि विवाद समाधान गर्न गठित कार्यदल ब्यूँताउनु पर्ने नेता नेपालको मागप्रति अध्यक्ष ओली सकरात्मक भएपछि कार्यदल गठन भएको हो।

स्रोतका अनुसार सर्वोच्च अदालतको फैसला अगावै पार्टी एकताबद्ध बनाउने सहमतिपछि कार्यदल ब्युँताइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.