कांग्रेस महाधिवेशन : उम्मेद्वार तय गर्न दुवै समूहलाई सकस

डिसी नेपाल
२३ असार २०७८ १४:४२
276
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म बाक्लो सरगर्मी बढ्न थालेको छ। १३ औँ महाधिवेशन पश्चात यतिबेला कांग्रेसमा तीन समूह सक्रिय छन्।

तीनै समूहबाट गरी आधा दर्जन भन्दा धेरै नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका छन्। एउटै समूहबाट धेरैले सभापति पदको आकांक्षी भएपछि सम्भावित साझा उमेद्वार तय गर्न सकस भएको छ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवार हुन्। देउवा समूहका उपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र पौडेल समूहका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले आआफ्नो तयारी थालेका छन्।

यसरी पार्टीभित्र पहिलो र दोस्रो पुस्ताका धेरै नेताहरु सभापतिको लाइनमा आएपछि तेस्रो पुस्ता तथा युवा नेताहरु भने भरसक सहमतीय नेतृत्वको प्रयास गर्ने सम्भव नभए संस्थापन र इतर दुवै समूहबाट साझा एकल उमेद्वार बनाउने गृहकार्य गरिराखेका छन्।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा समूहबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा उमेद्वार दिने घोषण गरेपनि निधिको यो निर्णयले देउवालाई कुनै असर नगर्ने बरु इतर समूहका प्रभावशाली नेताहरुलाई आफ्नो समूहमा ल्याउने रणनीतिमा बुढानिलकण्ठ लागेको बुझिन्छ।

तर पौडेल समूहबाट पौडेल आफूसहित अन्य प्रभावशाली नेताहरु नै सभापतिमा उठ्ने मनाशय बनाइरहँदा यो समूहबाट साझा उमेद्वार बनाउन नेताहरुलाई सकस परेको छ।

लोकतान्त्रिक पार्टीभित्र नेतृत्वको आकांक्षी स्वभाविक रुपमा धेरै हुुनु लोकतन्त्रको एउटा सुन्दर विशेषता बताउने कांग्रेस नेताहरु वर्तमान सभापति देउवाको नेतृत्व कौशलतामा प्रश्न उठाउने इतरपक्षबाट नै धेरै सभापतिको आकांक्षी हुनुले सभापति देउवा नै पुनः नेतृत्वमा दोहोरिने सम्भावना रहेको संस्थापन पक्षको बुझाइ छ।

वरिष्ठ नेता पौडेल निकट कांग्रेस नेता धनराज गुरुङपनि सभापतिको आकांक्षीमा धेरै नेताहरु देखिनु सकारात्मक भएको बताउँछन्। ‘लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि सक्षम छु भनेर निर्वाचनमा जाने सामथ्र्य देखाउनु नै लोकतन्त्रको सवल पक्ष हो’, उनले भने।

संस्थापन पक्षभन्दा इतरपक्षबाट सभापतिको आकांक्षी देखिनुले वर्तमान सभापतिलाई निरन्तरताको लागि सहज होला नि? भन्ने प्रश्नमा उनले भने, ‘म संस्थापन र इतरपक्ष भन्ने कुुरामा विश्वास राख्दिन। स्वभाविक रुपमा निर्वाचनमा गएपछि कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको मन जसले जित्छन्, उही नेतृत्वमा आउने हो।’

‘नेतृत्व र पुस्तान्तरण अबको कांग्रेसमा आवश्यक्ता भएपनि नेतृत्व मागेर पाइँदैन निर्वाचनमा जसले जित्छ उही आउने हो’, उनले भने।
अबको अधिवेशनमा निर्वाचनमा अग्रज नेतालाई बिस्राम लिनु भन्दा पनि आफैंले जितेर नै पुस्तान्तरण हुने उनको तर्क छ।

कांग्रेसलाई नजिकबाट लियालेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि परम्परागत ढंगजस्तो दुई खेमाको दुई साझा उमेद्वार हुने सम्भावना देख्दैनन्। उनका अनुसार १४ औँ महाधिवेशनमा पदाधिकारीमा धेरै नेताहरुबीच प्रतिस्पर्धा हुने सम्भावना छ।

‘१४ औँ महाधिवेशनमा पार्टीभित्र धेरै पदाधिकारीको कायापलट हुने सम्भावना छ। शेरबहादुरजी र रामचन्द्रजीहरु त पुरानै प्रतिस्पर्धी हुन्। तर यो अधिवेशनमा शेखर कोइरालाजीहरु पनि कुनै पनि हालतमा पछि हट्ने मनाशयमा देखिँदैनन्। त्यसकारण पार्टी भित्र पहिलो पुस्ताको नेता भन्दा दोस्रो र तेस्रो पुस्ताका नेताहरु भोलिको दिनमा आफ्नो भूमिका सहज बनाउन चाहन्छन् र सोही अनुसारको नयाँ प्रतिस्पर्धा हुने सम्भावना छ’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.