काँग्रेसको स्थानीयस्तरको अधिवेशन तोकिएको समयमा नहुने, पदाधिकारी बैठक बोलाइयो
काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित हुने निश्चित भएको छ। अधिवेशनका प्रारम्भिक मतदाताका रुपमा रहेन क्रियाशील सदस्यताको टुंगो नलागेकाले वडा र स्थानीय तह स्तरको अधिवेशन यसअघि तोकिएको मितिमा नहुने पक्का भएको हो।
यही साउन १२ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय भए पनि अब सो मितिमा अधिवेशन नहुने पक्का भएको काँग्रेस नेताहरुले बताएका छन्। तर, खुलेर नेताहरुले अधिवेशन नहुने भने उनीहरु भन्न चाहँदैनन्। महाधिवेशनको कार्यतालिका अनुसार गत असार २५ गतेसम्म क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने थियो। तर, क्रियाशील छानबिन समितिले असार मशान्तसम्मको समय माग्यो। सो समयमा पनि काम नसकिएपछि एक, दुई दिन समय मागियो। त्यो समयमा पनि क्रियाशील सदस्यताको विषय टुंगिएन।
वडा अधिवेशन आउन केही दिनमात्र बाँकी रहँदासम्म छानबिन समितिले काम नसकेपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सो विषयमा निर्णय लिन पदाधिकारी बैठक बोलाएका छन्। काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले डिसी नेपालसँग भने, ‘भोलि ९ बजे बुढानिलकण्ठमा बैठक बोलाइएको छ। महाधिवेशन नै बैठकको एजेण्डा हो।’ यसअघि तय गरिएको मितिमा वडा अधिवेशन नहुने पक्का भएपछि नयाँ मिति तोक्न पदाधिकारी बैठक बस्न लागेको हो।
महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने मिति तय छ। तर, स्थानीय अधिवेशनको मिति प्रभावित भएपछि महाधिवेशनको मिति पनि प्रभावित हुने सम्भावना बढेको छ। तर, भदौको अन्तिम सातासम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले एक दुई दिन पर सारेर भए पनि महाधिवेशन गर्नुपर्ने सभापति देउवाको भनाइ रहेको उनी निकट नेताहरु बताउँछन्। उता सभापति इतर समूहले भने सभापति देउवाले महाधिवेशन गराउन नचाहेको भन्दै आलोचना गरिरहेका छन्।
विभिन्न पार्टीबाट काँग्रेसमा प्रवेश गरेका नेताहरुलाई एकमुष्ट क्रियाशील सदस्यता वितरण गरिएपछि क्रियाशील सदस्यताका विषयमा विवाद छ। सभापति इतर समूहले समायोजनका नाममा सभापति पक्षले पार्टी कब्जा गर्न खोजेको आरोप लगाइरहेको छ। राप्रपाबाट आएका सुनील थापा, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट आएका विजयकुमार गच्छदार, अखण्ड नेपाल पार्टीबाट आएका कुमार खड्का, तमलोपाबाट आएका जंगीालल यादव, माओवादीबाट आएका शम्भुलाल श्रेष्ठ, एमालेबाट आएको मोहनसिंह राठौरलगायतलाई पार्टीको केन्द्रबाटै ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको छ।
संस्थापन इतर समूहले त्यसमा विरोध जनाउँदै आएको छ। यही विषयलाई लिएर सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश सिंहले प्रधानमन्त्री तथा सभापति देउवा समक्ष पदबाट राजीनामा दिएका छन्। काँग्रेस मुख्यालय सानेपामा विभिन्न समूहहरु अनशन तथा धर्नामा बसिरहेका छन्।
पार्टी मुख्यालयमा अनशन तथा धर्ना कायम रहेकाले सभापति देउवा पार्टी कार्यालय जान हच्किरहेका छन्। जसका कारण उनले पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बोलाउने गरेका थिए। दुई पटकसम्म बालुवाटारमा पदाधिकारी बैठक समेत भएको छ। अब भने बालुवाटारमा काँग्रेसको बैठक नहुने भएको छ। बालुवाटारमा पार्टीको बैठक गरेपछि व्यापक आलोचना भएको थियो। आलोचना बढेपछि सभापति तथा प्रधानमन्त्री देउवाले बालुवाटारमा बैठक नगर्ने निर्णय गरेका हुन्। मुख्यसचिब पौडेलका अनुसार सभापति तथा प्रधानमन्त्री देउवाले बालुवाटारमा बैठक नगर्ने घोषणा गरेका छन्।







डिसी नेपाल








Facebook Comment