उपेन्द्र यादवकाे पक्षमा बहुमत सदस्यको हस्ताक्षर

डिसी नेपाल
११ साउन २०७८ १३:३०

काठमाडौं। जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन्। ठाकुर पक्षका सदस्यले समेत यादव समूहमा हस्ताक्षर गरेका छन्।

यसअघि ठाकुर समूहका रहेका राजकिशोर यादव, मनिष सुमन र गोविन्द चौधरीले उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा हस्ताक्षर गरेका हुन्।

जसपाको ५१ सदस्यीय कार्यकारिणीमध्ये हालसम्म उपेन्द्र-बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन्।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ। जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो। ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो।

दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए। पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ।

यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *