सत्ता जोगाउन खोज्दा पार्टीभित्र संकटमा पर्दै देउवा

डिसी नेपाल
१२ साउन २०७८ १५:१७

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पार्टीभित्र अप्ठ्यारोमा पर्दै गएका छन्। प्रधानमन्त्री बने लगत्तै गरेका निर्णयका कारण उनी पार्टीभित्र आफ्ना विश्वासपात्र र सहयोगीहरुबाटै आलोचित बनेका छन्।

पार्टीको १४ औं महाधिवेशन आउन एक महिना मात्र बाँकी रहँदा अर्को कार्यकालको लागि सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेका सभापति देउवा पार्टीभित्रै एक्लिँदै जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

आइतबार विवादका बीच व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि सभापति देउवा पार्टीभित्र तीब्र आलोचित बनेका छन्। श्रेष्ठको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सबैभन्दा तीब्र प्रतिक्रिया महामन्त्री पूर्णबहादुर खड्काले दिएका छन्।

उनले देउवाको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै यो निर्णय गलत भएको बताएका छन्। खड्का पार्टीभित्र देउवाका निकट सहयोगी र विश्वासपात्र मानिन्छन् । उनले यसरी सभापतिको निर्णयको विरोध गर्नुले एक महिनापछि हुने महाधिवेशनमा देउवालाई ठूलो धक्का लाग्न सक्ने अनुमान गरिएको छ।

सम्भवतः निर्वाचन गराउने जिम्मेवारी पनि देउवाले नै पूरा गर्नुपर्नेछ। यसअघि आफैं प्रधानमन्त्री रहेर निर्वाचन गराउँदा पनि पार्टी नराम्रोसँग पराजित भएको इतिहास साक्षी छ। त्यो इतिहास दोहोरिन नदिन पनि देउवाले पार्टीको सल्लाह लिनुपर्ने हुन्छ। एकलौटी ढंगबाट अघि बढ्दा पार्टीभित्रकै असन्तुष्ट समूहले अन्तरघात गर्न सक्ने जोखिमलाई पनि देउवाले बिर्सिन मिल्दैन।

पूर्णबहादुर खड्का पार्टीभित्र भएका गलत कामहरुको निकै तीब्र रुपमा विरोध गर्ने नेताका रुपमा चिनिन्छन्। २०७२ मा संविधान जारी भएपछि प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएका थिए।

त्यसपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। तर, सहमतिका बीच सुशील कोइराला प्रधानमन्त्रीका लागि केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएपछि पूर्णबहादुर खड्काले यसको विरोध गर्दै सहमहामन्त्री पदबाटै राजीनामा दिएका थिए।

श्रेष्ठलाई मन्त्री बनाउने मात्र नभइ देउवाले हालै गण्डकी प्रदेशमा मन्त्री नियुक्तिमा गरेको हस्तक्षेपको पनि आलोचना भइरहेको छ। गण्डकी प्रदेशमा मन्त्री बन्ने सूचीमा परेर शपथको लागि तयार रहन सूचना समेत पाइसकेका सांसद दोबाटे विश्वकर्मालाई अन्तिम समयमा हटाएर व्यापारी विन्दुकुमार थापालाई मन्त्री बनाउन दबाब दिएपछि पार्टीभित्रैबाट देउवाको आलोचना भएको थियो । महामन्त्री शशांक कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले समेत देउवाको यो निर्णयको विरोध गरेका थिए।

अर्कोतर्फ आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने क्रममा आफ्नै पार्टीमा विद्रोह गरेका पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेपछि पनि देउवाको आलोचना भइरहेको छ।

केपी ओली सरकारले यो निर्णय गर्दा कांग्रेसका कैयौं नेताहरुले कानुनअनुसार सरकारले कसैको पनि उपचार खर्च व्यहोर्न नमिल्ने भन्दै विरोध गरिरहेका बेला देउवाले यो निर्णयलाई निरन्तरता दिएपछि समेत उनको आलोचना भइरहेको छ। पार्टीभित्रैबाट उनको यो कदमको विरोध भएको छ।

सत्ता जोगाउने क्रममा पार्टीभित्र छलफल नै नगरी एकलौटी निर्णय गर्दा देउवा एक्लिँदै गएका छन्। देउवा यसरी एक्लिँदै जानुले यसअघि प्रधानमन्त्री पदमा रहेका केपी शर्मा ओलीको विगतको संकेत गरेको छ। ओलीले समेत पार्टीले दिएको निर्देशन बेवास्ता गर्दै प्रधानमन्त्रीको रुपमा एकलौटी निर्णय गर्दै अगाडि बढेका थिए।

जसको परिणामस्वरुप उनलाई आफ्नै पार्टीका सहमर्की नेताहरुले प्रधानमन्त्रीबाट पदच्युत गराइदिए। अहिले देउवाले ओलीकै पदचाप पच्छाइरहँदा उनको भविष्य समेत संकटमा पर्न सक्ने देखिएको छ।

पार्टीको महाधिवेशन एक महिनापछि हुँदैछ जसमा देउवा सभापतिको उम्मेदवार बन्ने तयारीमा छन्। तर, सभापतिमा जित्नको लागि उनलाई पार्टीभित्रका नेता कार्यकर्ताको सहयोगको आवश्यकता पर्छ।

ती सहयोगीको विश्वास जित्दै अगाडि बढ्नको लागि उनले सरकारमा बसेर गर्ने निर्णयमा पार्टीभित्र छलफल गर्नुपर्ने हो। तर, पार्टीलाई बाइपास गर्दै सत्ता टिकाउनेतर्फ मात्रै केन्द्रित हुँदा उनी पार्टीभित्रबाटै एक्लिनुपर्नेछ । जुन भविष्यमा उनको लागि सहज हुने छैन।

अर्कोतर्फ अब सम्भवतः निर्वाचन गराउने जिम्मेवारी पनि देउवाले नै पूरा गर्नुपर्नेछ। यसअघि आफैं प्रधानमन्त्री रहेर निर्वाचन गराउँदा पनि पार्टी नराम्रोसँग पराजित भएको इतिहास साक्षी छ। त्यो इतिहास दोहोरिन नदिन पनि देउवाले पार्टीको सल्लाह लिनुपर्ने हुन्छ। एकलौटी ढंगबाट अघि बढ्दा पार्टीभित्रकै असन्तुष्ट समूहले अन्तरघात गर्न सक्ने जोखिमलाई पनि देउवाले बिर्सिन मिल्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *