दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

डिसी नेपाल
११ साउन २०८३ १९:१३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल अध्यागमन प्रणालीको अभिलेखमा अनधिकृत हेरफेर गरी गैरकानुनी रूपमा आवासीय भिसा जारी गरेको अभियोगमा दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार, तत्कालीन कम्प्युटर अपरेटर महतोले नेपाल अध्यागमन सूचना प्रणाली (‘नेपाली पोर्ट’)को ट्राभलर सेन्ट्रलाइजेसन सुविधा दुरुपयोग गरेका थिए। उनले आवश्यक कानुनी प्रक्रिया, अधिकारप्राप्त अधिकारीको स्वीकृति तथा तोकिएको राजस्वसमेत नतिरी भिसासम्बन्धी सरकारी अभिलेखमा फेरबदल गरेको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानको क्रममा २०८० फागुन ९ (२१ फेब्रुअरी २०२४) मा लक्जेम्बर्गका नागरिक पल क्रिस्टिन पेरिकको नाममा जारी भएको आवासीय भिसाको अभिलेख अमेरिकी नागरिक डिन जे रोबिन्सनका नाममा स्थानान्तरण गरिएको पाइएको छ। सोही फर्जी अभिलेखका आधारमा तयार भएको आवासीय भिसा रोबिन्सनको राहदानीमा टाँसी उनले नेपालमा अवैध रूपमा बसोबास गर्दै आएको अख्तियारको दाबी छ।

यस किसिमको गैरकानुनी क्रियाकलापबाट सरकारी अभिलेखमा अनधिकृत हेरफेर हुनुका साथै राज्यलाई प्राप्त हुने राजस्वसमेत नोक्सानी पुगेको पुष्टि भएको आयोगले जनाएको छ।

अख्तियारले मुख्य अभियुक्त राजिव महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ तथा कसुरमा सहयोग पुर्‍याउने अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध सोही ऐनको दफा २२ बमोजिम कसुर ठहर गर्दै कैद र जरिवानाको कठोर मागदाबी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *