मनोविद्सँग बाढी प्रभावितका कुरा: एक मनोविद्को डायरीबाट

खेम सिंह साउद / पिताम्बर कोइराला
११ कार्तिक २०८३ १२:५१

विनाशकारी भोटेकोशी बाढी आएको झन्डै दुई महिना भयो। तर बाढी प्रभावित क्षेत्रका बासिन्दामा अझै पनि बाढीको त्रास कायमै छ। दशैं नजिकिँदै गर्दा पनि प्रभावित क्षेत्रका गाउँबस्ती सुनसान छन्।

“आफ्नो परिवारमा जुठो नपरे पनि सिङ्गो गाउँ शोकमा रहेका बेला कसरी दसैँ मनाउन सकिन्छ र? त्यसैले यसपालि गाउँमा कसैले पनि टीका नलगाउने निर्णय गरेका छौं। देश-विदेशमा रहेका युवाहरूको पनि यही सल्लाह छ,” नुवाकोटको किस्पाङ-५, अर्चलेस्थित त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक रामकृष्ण भट्टराईले बताए।

“भर्खरकी बुहारीलाई बाढीले लग्यो, नातिनातिनाको बिजोग भयो। मनमा कति चिन्ता छ, भनेर साध्य छैन, बाबु। सोच्नै नसक्ने अवस्थामा छु। सात-आठ दिनसम्म कतै शव भेटिन्छ कि भनेर खोज्यौँ, तर भेटिएन। त्यसपछि गर्नुपर्ने विधि गर्‍यौं। बरु हामी साठी वर्ष कटेकाहरू नै गएको भए हुन्थ्यो, भर्खरका नानीहरूलाई छोडेर गइन्।

‘आमा, आज भयंकर बाढी आउँदै छ रे, नानीबाबुलाई लिएर माथि जानुहोस्’ भनेर बुहारीले फोन गरेको केही बेरमै त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत मेरी बुहारीसहित सबैलाई बाढीले बगायो। धन्न नानीबाबुहरू बाँचे,” बाढीमा आफ्नी बुहारी गुमाएकी एक वृद्धाले यसरी पीडा सुनाइन्।

“खेत लग्यो, घर पनि लग्यो, गाउँका १५-१६ जना भर्खर २०-२५ वर्षका युवाहरू गुमाउँदा गाउँ नै रित्तिएजस्तो भएको छ,” एक महिलाले पीडा पोखिन्। “बुहारी रातभर सुत्दिनन्। छोराका फोटो पल्टाएर हेर्छिन्, फोटोसँग कुरा गर्छिन् र ‘फर्केर आऊ’ भन्दै रुन्छिन्।

जति सम्झाए पनि मान्दिनन्,” बाढीमा छोरा गुमाएकी एक आमाले बताइन्। अर्को कुराकानीमा श्रीमान् गुमाएकी एक महिलाले भनिन्, “बच्चाले रातभर सुत्न दिँदैन। ‘बाबा कहिले आउनुहुन्छ? कहाँ जानुभएको हो? दसैँमा त आउनुहुन्छ होला नि?’ भनेर सोध्छ। के भनेर सम्झाऊँ? आमा पनि रातभर सुत्न सक्नुहुन्न।”

“यतिबेला हामीलाई राहतभन्दा पनि कुरा गरिदिने, हाम्रो कुरा सुनिदिने मान्छे चाहिएको छ। राहत थुपारेर के गर्नु, मुसाले गुँड लगाइसक्यो। हाम्रो मनको कुरा सुनिदिने र पीडा बुझिदिने व्यक्ति चाहिएको छ। हामी पुरुषले त जसोतसो चित्त बुझाउँछौँ, तर महिलालाई गाह्रो हुँदो रहेछ।

उनी आजसम्म पनि रोइरहेकी छिन्,” केही दिनअघि उपचारका लागि श्रीमतीलाई काठमाडौं पठाएर घरमा एक्लै रहेका ७० वर्षीय वृद्धले बताए। उनले बाढीमा आफ्नी छोरी गुमाएका थिए।

“भूकम्पले पनि हामीलाई लखेट्यो, बाढीले पनि लखेट्यो। अब हामी कहाँ जाने?” सुरक्षित आवासको आशामा रहेका स्थानीय बासिन्दाले पीडा सुनाए। उनीहरू २०७२ सालको भूकम्पपछि विस्थापित भएका थिए र भदौ १० गतेको बाढीपछि बस्ती थप जोखिममा परेको छ।

बाढीले बगाउँदा रुख समातेर एक घण्टासम्म जीवन-मरणको दोसाँधमा रहेका र भाग्यवश बाँच्न सफल भएका किस्पाङ-५ का एक ६२ बर्षीय घाइतेले भने, “खोलातिर फर्केर हेर्न पनि मन लाग्दैन। सुत्न खोज्दा त्यही बाढी याद आउँछ, निद्रा लाग्दैन।

त्यही रुखबाट हजारौँ गाईभैँसी, गाडी र घरहरू बगेको देखेँ। कतिपयले सातो गएको छ, झारफुक गर्नुपर्छ भन्छन्; तर मलाई बिस्तारै निको हुन्छु भन्ने आशा छ। अलि निको भएपछि संकटका बेला साथ दिने देवीको मन्दिरमा गएर ढोग्छु, मलाई बचाउनुभएकोमा धन्यवाद दिन्छु र आशीर्वाद लिन्छु।

त्यसपछि मात्र त्रिशूली र बट्टारतिर गएर शुभचिन्तक साथीहरूलाई भेट्छु।” उनले राहतप्रति आफ्नो धारणा पनि सुनाए: “बाटोघाटो सबै बन्द छन्। अरूले दिएको राहत लिन पनि अप्ठ्यारो लाग्छ।

हाम्रो संस्कारमा कसैको मृत्यु हुँदा ब्राह्मणलाई दान दिने, अरुलाई दिएर खाने चलन छ; यस्तो अवस्थामा अरूले दिएको कसरी खाने भन्ने लाग्छ। सकेसम्म आफूसँग भएकोमै सन्तुष्ट हुनुपर्छ जस्तो लाग्छ। जसलाई वास्तवमै आवश्यकता छ, उसले मात्र राहत पाउनुपर्छ।”

“दिउँसो आफन्त र साथीहरूसँग जसोतसो समय बित्छ, तर राति गाह्रो हुन्छ,” श्रीमतीसहित सात जना आफन्त गुमाएका ४२ वर्षीय एक युवकले बताए। बाढी आउँदा उनले श्रीमतीको हात समातेर भाग्न खोजेका थिए, तर हात छुटेपछि श्रीमती बेपत्ता भइन्।

उनी भने बाढीले हुत्याएर पाखातिर फ्याकेर बाँच्न सफल भए। घाइते भएपछि उनलाई भोलिपल्ट हेलिकोप्टरबाट काठमाडौं लगेर उपचार गरियो र हेलिकोप्टरबाटै किस्पाङ फर्काइयो।

अहिले उनी साना छोराछोरीसँग घरमा एक्लै छन्। त्यस्तै ठूलो बाढी आउँदै गरेको खबर पाएपछि त्रिशूली पारी उत्तरगया स्कूलमा पढ्ने छोरालाई लिन जबर्जस्ती श्रीमानलाई पठाएकी एक जना महिलाको पीडा नि कम छैन।

बाढीबाट छोरा त बाँच्यो तर सुरक्षित स्थानबाटै आफूले जबर्जस्ती पठाएर छोरा लिन गएका श्रीमानको त्रिशूलीको बाढीले ज्यान लियो। आफ्नै कारणले श्रीमानको ज्यान गएको उहाको अर्को पीड़ा छ।

बाढी आएको दिन श्रीमती र बच्चाहरूलाई लिएर ससुराली जान बिदा लिएका, अघिल्लो दिन मात्रै कामबाट फर्केका त्रिशूली-२१६ मा कार्यरत २९ वर्षीय एक युवकले भने, “धन्न बाँचियो।

बिदा नलिएको भए हामी पनि जाने रहेछौं। ससुराली जान पनि त्यही बाटो जानुपर्थ्यो, परिवारसहित के हुन्थ्यो, कल्पना गर्न पनि सक्दिनँ.” आफ्ना भान्जासहित धेरै छिमेकी र सहकर्मी गुमाएका उनी बाढीका प्रत्यक्षदर्शी पनि हुन्।

उनी राति सुत्न नसक्ने, तर्सिने, झस्किने र सपनामा पनि बाढीको झझल्को आउने बताउँछन्। भर्खर विद्यालयमा पुगेकी एक जना शिक्षिकाले भयानक बाढी आएको जानकारी पाएपछि त्रिशूली-२१६ मा स्वास्थ्य बिभागमा कार्यरत आफ्ना श्रीमानलाई फोन गर्दै रोई कराई गरेर सुरक्षित स्थानमा सक्दो छिटो भाग्न भनेपछि मात्र बाढीको जानकारी पाएर भागेर ज्यान जोगाएका अर्का एक जना युवा भन्छन धन्न बाचियो। सँगै का कयौं साथीहरू गुमाइयो।

आमा-बुबा र छिमेकी गुमाएका ११ र १३ वर्षीया दुई बालिका बाढीले बगाएको स्थान हुँदै केही समयअघि मात्रै विद्यालय गएका थिए। नदीकिनारका बस्तीमा रहेका मानिसलाई बाढीले क्षणभरमै बगाएको आफ्नै आँखाले देखेको उनीहरूले सुनाए।

अहिले उनीहरूबाहेक परिवारका अन्य सदस्य कोही पनि बाँकी छैनन्। बाढीमा श्रीमान् गुमाएकी ४४ वर्षीया महिलालाई शोकसँगै नयाँ जिम्मेवारीको चिन्ताले पनि पिरोलेको छ। उनले भनिन्, “अहिलेसम्म घरको कामबाहेक बाहिर निस्केकी थिइनँ।

आर्थिक कारोबार, लेनदेन र कागजपत्रका काम श्रीमान्ले नै हेर्नुहुन्थ्यो। लालपुर्जा, बैंक ऋणको हिसाबकिताब, नागरिकता र बच्चाहरूको जन्मदर्तालगायतका कागपत्र पनि बचेका छैनन्.” श्रीमान् गुमाउनुको पीडासँगै अब थपिएका जिम्मेवारी कसरी सम्हाल्ने भन्ने चिन्ता उनलाई छ।

धेरै घर मानिसविहीन भएका छन्। घरका केही सदस्य विदेशमा रहेका र घरमा भएका सबै सदस्य बाढीमा ज्यान गुमाएका कारण यस्तो अवस्था आएको हो। धेरै बालबालिका टुहुरा भएका छन्; केहीले त बाबुआमासहित परिवारका सबै सदस्य गुमाएका छन्।

किस्पाङ-५ मा त्रिशूली किनारको एउटा बस्ती बाढीले बगाउँदा त्यहाँका सबै बासिन्दाले ज्यान गुमाएको र समुदाय नै मेटिएको अवस्था छ। राति झ्यालबाट बेला-बेला बाढी आयो कि भनेर हेर्छौं।

बाढीमा करोडौँ रुपयाँ बराबरको पसल, व्यवसाय र नगद गुमाएका एक व्यवसायी छोरा सहित बाँच्न सफल भए। बाढीबाट भाग्ने क्रममा उनी घाइते भएका थिए।

बाढीपछि उनी माथिल्लो गाउँमा सुरक्षित ठाउँमा कोठा लिएर बसेका थिए। केही दिनअघि मात्रै त्रिशूली किनारमा रहेको बाढीबाट बचेको आफ्नो घरमा फर्किएपछि राति सुत्न नसकेको र पटक-पटक उठेर नदीतिर हेर्ने गरेको सुनाउदै उनले भने: “मनोविद्सँग कुरा गर्दा मन हलुका भयो”।

बाढीपछिको पीडा सुनाउँदै ४९ वर्षीया एक महिलाले भनिन्, “घरमा हामी बूढाबूढी मात्रै छौँ, छोरा विदेशमा छ। श्रीमानसँग खासै कुरा हुँदैन; उहाँ खाना खाएर आफ्नो काममा लाग्नुहुन्छ। मलाई असाध्यै चिन्ता लाग्छ, तर मनको पीर पोख्ने कोही छैन।

दुःखसुख बाँड्ने एउटी साथी थिइन्, तर उनका श्रीमान् पनि बाढीमा बित्नुभयो। उहाँ आफैँ पीडामा हुनुहुन्छ, त्यसैले उहाँकहाँ जान पनि मन लाग्दैन। कहिलेकाहीँ जान्छु र आफ्नो पीडा लुकाएर भए पनि उहाँलाई सम्झाउने कोसिस गर्छु। तर भित्रभित्रै म आफैँ रोइरहेको कसैले देख्दैन। कहिलेकाहीँ असाध्यै गाह्रो हुन्छ। यसरी कुरा गर्दा मन धेरै हलुका हुँदो रहेछ.”

बाढीले भौतिक संरचना भत्काएझैँ मानिसका मनमा पनि गहिरो चोट पुर्‍याएको छ। त्यसैले भौतिक पुनर्निर्माणसँगै मनोसामाजिक सहयोग र भावनात्मक पुनःस्थापनालाई पनि प्राथमिकता दिन आवश्यक छ।

परिवार, आफन्त, सम्बन्धित निकाय, सरोकारवाला र सहयोगी हातको साथ लिएर प्रभावित व्यक्तिले जीवनलाई फेरि अघि बढाउने आधार बनाउन सक्छन्। सुरक्षित र सम्मानजनक संवाद तथा आवश्यकताअनुसार दक्ष मनोसामाजिक परामर्शले यसमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

तर समुदायमा मनोसामाजिक परामर्शको महत्त्वबारे अझै पर्याप्त जानकारी नहुन सक्छ। त्यसैले राहत र उद्धारसँगै मनोसामाजिक सहयोगबारे जनचेतना, जानकारी र सेवामा पहुँच बढाउने कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक छ।

लेखक बाढी प्रभावित क्षेत्रमा कार्यरत परामर्श मनोविद् हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *