नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव: जापानका सात सहरमा विशेष सांगीतिक कार्यक्रम हुने

डिसी नेपाल
११ कार्तिक २०८३ १३:१४

काठमाडौं। नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवका अवसरमा जापानका प्रमुख सात सहरहरूमा विशेष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ। मिन-ओनको आयोजनामा हुन लागेको उक्त सांगीतिक भ्रमण कार्यक्रमले नेपालको मौलिक सङ्गीतलाई जापानका प्रसिद्ध सहरहरूमा पुर्‍याउनेछ।

‘नेपालको काव्यिक हृदयः चार ऋतु र पर्वहरू’ शीर्षक दिइएको यस सांगीतिक कार्यक्रममा नेपाली लोक तथा शास्त्रीय धुन सम्मिश्रित साङ्गीतिक प्रस्तुति रहनेछ। यो कार्यक्रम नेपालका विभिन्न ऋतुहरू र चाडपर्वहरूको परिचय दिने भिडियोसहितको सांगीतिक कन्सर्ट हो।

हिमालयको काखबाट प्रस्फुटित मौलिक धुनहरूलाई जापानी दर्शकसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई ‘हिमालयलाई नियाल्ने सङ्गीतकारहरूको चमत्कारिक प्रस्तुति’ का रूपमा लिइएको छ।

यस सांगीतिक टोलीमा नेपालका दिग्गज तथा प्रतिभावान वादकहरूको सहभागिता रहनेछ। यो कन्सर्ट सितारवादक डा. सवन जोशीको संयोजनमा आयोजना हुन लागेको हो।

जापानको ‘टोकियो युनिभर्सिटी अफ आर्ट्स’ बाट विद्यावारिधि गरी लामो समयदेखि जापानमा नेपाली संगीतको अनुसन्धान, अध्यापन र सितार कन्सर्टमार्फत नेपालको संगीत र संस्कृति चिनाउँदै आएका डा. जोशीको यस कार्यक्रममा मुख्य भूमिका रहनेछ।

उक्त साङ्गीतिक टोलीमा सवन जोशी (सितार) का साथै अन्य कलाकारहरूमा रमन महर्जन (बाँसुरी), मिलेश तण्डुकार (तबला/पर्कसन) र मनिष गन्धर्व (सारङ्गी) रहेका छन्।

साथै, जापानी सङ्गीतकार मोरीफुजी शोजीले किबोर्ड तथा सिन्थेसाइजरमार्फत नेपाली संगीतकारहरूलाई साथ दिनेछन्। यी कलाकारहरूले नेपालका साथै जापानका विभिन्न प्रसिद्ध सहरहरूमा यसअघि पनि पटक-पटक शास्त्रीय सङ्गीत कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

नोभेम्बर १६ देखि नोभेम्बर २४ सम्म (२०८३ कात्तिक ३० देखि मङ्सिर ८ गतेसम्म) आयोजना हुने यो सांगीतिक यात्रा जापानका विभिन्न हलहरूमा सञ्चालन हुनेछ।

चिबा प्रान्तस्थित इचिखावा सिटी कल्चरल हलबाट सुरु हुने कार्यक्रम क्रमशः सिजुओका प्रान्तको फुजी सिटी कल्चरल हल (रोज थिएटर), सिजुओकाकै मिसिमा सिटी कल्चरल हल (युयु हल), गिफु प्रान्तस्थित नागारागावा इन्टरनेसनल कन्भेन्सन सेन्टर, आइची प्रान्तको नितेरा जापान तोकुस्यु तोग्यो सिभिक हल, निगाता प्रान्तको मिनामी-उओनुमा सिभिक हल र अन्तिम दिन कानागावा प्रान्तस्थित कामाकुरा आर्ट्स हलमा सम्पन्न हुनेछ।

दुई देशबिचको कूटनीतिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन यो सांगीतिक कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *