थप खोप सहयोग गर्न अमेरिकासँग आग्रह

डिसी नेपाल
१२ साउन २०७८ २३:४७

काठमाडौं। नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग मंगलबार साँझ भएको हार्दिकतापूर्ण टेलिफोन वार्तामा थप खोप सहयोगका लागि अनुरोध गरेको राससले उल्लेख गरेको छ।

अमेरिकी विदेशमन्त्रीले देउवालाई टेलिफोन गरेर उनी प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई ज्ञापन गरेको तथा त्यस अवसरमा उनीहरुबीच नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहयोगका विषयका साथै कोभिड १९ खोप सहयोग तथा औषधि उपकरण र स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता अहिलेको प्राथमिकताका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

फोन वार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्ध १५ लाखमात्रा खोप सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै महामारीको तेस्रो लहरको व्यापक आशङ्का भएको सन्दर्भमा बालबालिका र युवा जनसङ्ख्यालाई पुग्नेगरी उपयुक्त खोपको थप व्यवस्थाका लागि आग्रह गरेका छन्। उनले अमेरिकी सरकारबाट नेपालको सामाजिक एवं आर्थिक विकासका निम्ति निरन्तररुपमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए।

कुराकानीका क्रममा नेपालको विकासका विविध क्षेत्रका प्राथमिकता, अमेरिकी सहयोग र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे पनि विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। २०७४ मै अमेरिका र नेपालबीच एमसीसी क्म्याक्टमा सम्झौता भए पनि नेपालको संसदले सो कम्प्याक्ट अनुमोदन नगरेकाले कार्यान्वयन हुन सकेको छैन।

विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तन र नेपालजस्तो अतिसंवेदनशील पर्वतीय देशको अर्थतन्त्रमा विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबाट पर्ने प्रभावबारे दुवै पक्षले छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक परिचय, विधिको शासन एवं मानवअधिकारप्रतिको प्रतिबद्धतामा जोड दिएका थिए।

प्रधानमन्त्री देउवाले राष्ट्रपति जोसेफ बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससमक्ष आफ्नो अभिवादन एवं शुभकामना सम्प्रेषण गर्न विदेशमन्त्री ब्लिङ्केनलाई आग्रह गर्दै बाइडेन प्रशासनसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताए।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने एमसीसी र थप खोपबारे भएको कुराबारे केही उल्लेख गरिएको छैन। हालसम्म अमेरिकाले गरेको सहयोग र द्विपक्षीय सम्बन्धबारे कुरा भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यता प्रधानमन्त्री देउवाले ट्वीट गर्दै सो फोन वार्तामा द्विपक्षीय सयहयोगबारे कुरा भएको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *