जसपाबाट मन्त्री चयन गर्ने जिम्मा, यादव, भट्टराई र राईलाई

डिसी नेपाल
१३ साउन २०७८ १९:५९

काठमाडौं। जनता समाजवादी पार्टीले देउवा सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरुको नाम चय गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको छ।

बुधबार सकिएको जसपा कार्यकारिणी समितिको बैठकले तीनजना नेतालाई मन्त्री छान्ने जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मो. इस्तिायक राइले जानकारी दिए।

बुधबार नै बसेको सत्तारुढ गठबन्धनको बैठकले छिटै मन्त्रिपरिषद विस्तार गर्ने निर्णय लिएको थियो। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको बुधबार १५ दिन पुग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। गत असार २९ मा देउवासँगै ४ जनामन्त्रीले शपथ ग्रहण गरेका थिए भने गत आइतबार देउवाले काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। देउवा मन्त्रिपरिषद हाल ६ सदस्यीय छ।

संविधानले २५ सदस्यीयभन्दा माथि नबढाई मन्त्रिमण्डल बनाउन पाइने व्यवस्था गरेको छ। अब कम्तिमा १९ जनामन्त्रीहरु थपिने सम्भावना छ। तर, गठबन्धन दलहरुबीच मन्त्रालय र मन्त्री बन्ने व्यक्तिको टुंगो नलागेकाले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। बुधबार भएको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका सहयात्री दलहरुसँग मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए।

माधव समूह सरकारमा नगए जसपाले कम्तिमा ७ वटा मन्त्रालय पाउने सम्भावना रहेको छ। त्यसैले मन्त्रालय र संख्या टुंगो लागेपछि जसपाका शीर्ष तीन नेताले मन्त्रीको सूची तय गर्ने छन्। जसपाले नेपाल लोकतान्त्रिक पार्टीसँगको जसपाको एकीकरणलाई अनुमोदन गर्दै शिवलाल थापालाई कार्यकारिणी समितिको सदस्यमा मनोनितसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *