हामी नयाँ दल खोल्छौं, तर दर्ता नहुञ्जेल हामी जसपा नै हौं : सुरेन्द्र झा

सम्भव सिंह ठकुरी
१४ साउन २०७८ १४:३९

काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेपछि ओलीको विकल्प खोज्ने कि निरन्तरता दिने भन्ने विवाद उत्कर्षमा पुगेको जनता समाजवादी पार्टी (जसपा),विवादको निरुपण मंगलबार निर्वाचन आयोगले फैसला गरेको छ।

५१ केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपामा आयोगले हेडकाउन्ट गर्दा उपेन्द्र यादव समूहको पक्षमा ३४ जना सदस्यको बहुमत पुगेर पार्टीको आधिकारीकता यादवपक्षले पाएको छ। १४ कार्यकारिणी सदस्यको मात्र साथ पाएको महन्थ ठाकुर, राजेन्द्र महतोलाई भने नयाँ दल खोल्ने सुबिधा दिएको छ।

तर उक्त फैसला पश्चात पार्टीभित्र सकस परेको ठाकुर पक्षको अबको विकल्प के त? यसै विषयमा केन्द्रित रहेर ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झासँग डिसी नेपालका लागि सम्भवसिंह ठकुरीले गरेको कुराकानीका सम्पादित अंशः

मंगलबार निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि भोलिपल्ट नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट यहाँहरुलाई पार्टीबाट निष्कासित गरेको छ, अब के गर्नु हुन्छ?

निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएको हैन। आयोगले जसपालाई पूर्ववत् एकीकरण गरेको अवस्थाको कार्यसमितिमा फर्काई दिएको मात्र हो।

हेड काउन्टिङबाट उहाँको पक्षमा ३४ जनाको बहुमत देखिन्छ। बहुमत साथीहरुले यादव पक्षमा सनाखत गर्नुभएको हो। तर पार्टी नै यादवजीहरुलाई सुम्पेको हो,भन्ने बुझाई गलत हो। आयोगको फैसलाको अपव्याख्या हो।

जहाँसम्म उहाँहरुले कारबाही गर्नुभयो भन्ने कुुरा छ, हामीले पनि सुनेको मात्र हो। तर त्यो बैठकमा हाम्रो पक्षको १६ जनालाई कुनै सूचना र जानकारी आएको छैन। त्यसकारण कारबाही गर्नका लागि बैठकको जुन प्रविधिक कुरा छ।

उहाँहरुले प्रक्रिया पुर्याउनु पथ्र्यो, हाम्रो साथीहरुलाई खबर गर्नुपथ्र्यो। बैठकमा जानु नजानु हाम्रो कुरा हुन्थ्यो। त्यसपछि मात्र उहाँहरुले कारबाही गर्न मिल्छ। त्यसकारण एकपक्षीय ढंगबाट गरिएको कारबाही कानुनतः त्रुटीपूर्ण छ।

तर आयोगको यो फैसला आउनु भन्दा अगाडि त, यहाँहरुले सहमतिमै विभाजन हुन्छौं, पार्टीको आधिकारिकता मात्र प्रष्ट पार्न सहमति भएको हैन र?

यो सबै कुरा निर्वाचन आयोगले खारेज गरिदिएको छ। अब यो प्राविधिक कुरा हो। राजनीतिक कुरा के हो भने हाम्रो राजनीतिक एजेण्डा नै फरक हुँदै गएको छ। त्यसकारण उहाँहरु आफ्नो ढंगबाट आगाडि बड्दै हुनुहुन्छ।

हामी हाम्रो तरिकाले अगाडि बढ्दै छौँ। म फेरि पनि भन्छु निर्वाचन आयोगको निर्णयले पार्टी उपेन्द्र यादवजी पक्षहरुको मात्र पार्टी भनेको छैन। त्यसैले अहिलेपनि हामी जसपा पार्टीकै सदस्य हौँ। विधानले पार्टीको कार्यकारिणी सदस्यलाई विधान संशोधन गर्ने अधिकार दिएको छ।

आयोगले यहाँहरुलाई नयाँ दल बनाउने सुबिधापनि दिएको छ। त्यो सुबिधा प्रयोग गर्ने कि नगर्ने?

निर्वाचन आयोगमा उपेन्द्रजीहरुको समूहमा बहुमत देखिएको छ। त्यसकारण हामी इतर समूहलाई कानुनतः नयाँ दल खोल्ने अधिकार दिएको छ। त्यसकारण हामी अहिले कसरी अगाडि बढ्ने भनेर सरसल्लाह मै छौँ। तर हामी नयाँ दल दर्ता गर्छौ। तर आजको मितिसम्म हामी जसपा नै हौँ।

आयोगले पार्टीको आधिकारिकता दुबै पक्षलाई दिएको छ। ०७७ बैशाख २४ गते जसपाको जुन प्रमाणपत्र दिएको छ। त्यो केन्द्रीय कार्यकारिणी समितिमध्ये पार्टीको दोस्रो अध्यक्ष उपेन्द्रजीको पक्षमा बहुमत पुग्यो मात्र भनेको हो। आधिकारिकता दिएको होइन।

अहिलेसम्म जसपा नै हौं भन्नुभयो। तर अलिक पछि नयाँ दल दर्तापनि गर्छौं भन्नु भयो तर नयाँ दल खोलेपछि स्थानीय जनप्रतिनिधिदेखि प्रदेश र संघका जनप्रतिनिधिको पद पनि धराप पर्ला नि!

हाम्रो पद यथावत् रहन्छ। यो पद भनेको जनताले दिएको पद हो। त्यसकारण केही पनि हुँदैन। आयोगले मिल्नसक्नु हुन्छ भने मिलेर बस्नुस्, सक्नु हुन्न भने अर्को दल खोल्ने सुबिधा दिएको छ। अर्को विषय सर्वोच्च अदातलमा साउन १५ गते दुबै पक्षको बहस हुन्छ।

त्यो बहसमा पनि हामी सहभागी हुन्छौँ। त्यसपछि १५ दिनपछि बाटोको म्याद दिएपछि हामी टुङ्गोमा पुग्छौँ। त्यसैले निर्वाचन आयोगले दिएको एउटा सुबिधा अनुसार हामी दल खोल्न स्वतन्त्र छौं। त्यसको लागि हामी सरसल्लाह मै छौं।

आयोगले फैसला गरेको दिन उपेन्द्र यादवले एकताको चाबी बन्द भएको छैन। ठाकुर पक्षका सबै नेताहरुले सार्वजानिकरुपमा आत्मलोचना गर्नुभयो भने पार्टीमा स्थान रहन्छ पनि भन्नु भएको थियो। तपाईंहरु आत्मलोचना गर्ने कि विकल्प नै खोज्ने हो?

हामीले आत्मालोचना के का लागि गर्नुपर्यो? नागरिकता सम्वन्धी अध्यादेश सरकारबाट जारी गरायौँ। संविधान संशोधन संम्बन्धी कार्यदल गठन गर्न लगायौँ। आन्दोलनको क्रममा १४९ जना नेता कार्यकर्ताहरुमाथि लगाइएको मुद्धा फिर्ता गर्न लगायौँ। यो कामहरु गरेकाले अन्याय भयो? अनि हामीले आत्मालोचना गर्नुपर्ने?

उपेन्द्र यादवजी केपी शर्मा ओलीजीको नेतृत्वमा १८ महिना सरकारमा बस्दा सुनपानी छर्केर निस्कनु भएको हो र? आत्मालोचना गर्नैपर्ने हो भने उहाँले गर्नुपर्छ। उहाँको अवसरबादी चरित्रले गर्दा मधेसको जनता र मुद्धालाई किस्तीमा राखेर सत्ता र शक्तिको मोहमा लाग्नुभएको छ। त्यसकारण उहाँले आत्मालोचना गर्नुपर्छ। हामीले के गरेको छ र आत्मलोचना गर्नु?

तत्कालीन ओली सरकारमा सहभागी हुँदा संसदीय दलमा तपाईंहरुको पक्षमा प्रष्ट बहुमत थियो। तर अदालतले असंवैधानिक ठहर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिएपछि तपाईँहरुको सांसद घटेर १२ जनामा पुगेको छ। सांसदहरु मुद्धामा भन्दा सत्तामा केन्द्रित देखियो नि!

यो नेपाली जनताले देखेको र मूल्याङ्कन गरेको विषय हो। हामीसँग अहिले १२ जना होइन १६ जना सांसदहरु हुनुहुन्छ। सांसदहरु लोभीपापी भएकै हुन्। मन्त्री बनाएका नबनाएका केही मान्छेहरुले समूह परिवर्तन गरेकै हो।

जसपा एकीकरण हुनुपूर्व उपेन्द्र यादवजीलाई छाड्न खोजेका ६ जना साथीहरु पनि उतै हुनुहुन्छ। त्यसकारण हामीले भन्दापनि नागरिकहरुले मूल्याङ्कन गरिराखेका छन्। सांसदहरुको यो खाले चरित्र नेपाली राजनीतिको विकृत पाटो हो।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभएको छ। सरकारमा सहभागी हुने कि नहुने ?

तीन ठूला दलहरु एमाले, कांग्रेस, माओवादी केन्द्र सत्ताको लागि संघर्षमा हुनुहुन्छ। हामी भनेको अधिकारको लागि संघर्षमा छौँ। हाम्रो पार्टी भनेको मधेस आन्दोलन, थारु आन्दोलनबाट उदाएको पार्टी हो। त्यो आन्दोलनका मुद्धाहरुका कारण धेरै नेताकार्यकर्ताहरु जेलमा छन्।

कोही तारिखमा छन्। त्यसकारण हामी आफ्नो एजेण्डा बोकेर अगुवाई गर्ने पार्टी भएकाले यो भन्दा अघिल्लो सरकारले हाम्रो मागहरु सम्वोधन गर्न अगुवाई गर्न थाल्यो,प्रयास गर्‍याैं। त्यसको निरन्तरताको अपेक्षा अहिलेको सरकारसँग गरेका छौँ।

त्यसअनुरुपले हामीले प्रधानमन्त्री देउवालाई विश्वासको मतपनि दिएका हौँ। अर्को कुरा के भन्छु भने तीन ठूला दल मिलेर बनेको संविधान हो। यसमा हाम्रो रगतको बाछिटा परेर बनेको संविधान हो। त्यसैले यो संविधानमा त्रुटी छ भन्ने कुरा धारा ७६ ले प्रमाणीत गरिसक्यो । एक व्यक्ति एक हप्ताभित्र २ पटकसम्म प्रधानमन्त्री बनेर न्यायलयले निकाश दिनुपरेको छ।

त्यसकारण अहिले देउवाजी प्रधानमन्त्री बन्नुभएको छ। उहाँले पनि हाम्रो माग मुद्धा संवोधन गर्ने कुरामा सकारात्मक हुनु भएकाले उहाँले पठाउनु भएको सानो पत्रमा नै हामीले विश्वास गरेर उहाँलाई मत दिएका हौँ। सरकारमा जाने कि नजाने भन्ने,विषयमा हामी छलफल गर्दै छौँ। अहिल नै भन्न सक्न अवस्था छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *