आइतबारसम्म सरकारले पूर्णता पाउने, गठबन्धनबीच भागवण्डा मिलेको दाबी

डिसी नेपाल
१५ साउन २०७८ ११:०८

काठमाडौं। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता पूरा भइसकेको छ। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। त्यसपछि देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्री नियुक्त भएको दुई हप्तासम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा सरकारका काम कारवाही प्रभावित बनेको छ। सरकारलाई पूर्णता लिने विषयमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दैनिकजसो छलफल भइरहेको छ।

माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा प्रचण्डलाई दिएको छ। जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मा दिएको छ। राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने जनाइसकेको छ।

सरकारले पूर्णता पाउन ढिला हुनुको मुख्य कारण भने माधव नेपाल समूह हो। बिहीबार बसेको गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता लिने सहमति गरेको छ। दलहरुबीच मन्त्रालय भागबण्डामा पनि कुरा मिलिसकेको छ। तर अझै माधवकुमार नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन  केही दिन पहल गर्ने र नेपाल समूह सरकारमा सहभागी नभए आइतबार सरकारलाई पूर्णता दिन सहमति भएको छ।

नेपाल समूह सरकरमा सहभागी नहुने अवस्थामा नेपाली कांग्रेसले प्रधानमन्त्री समेतगरी आठ, नेकपा माओवादी केन्द्र र जसपाले सात/सात मन्त्रालय पाउने गरी भागवण्डा मिलेको हो।

बिहीबारको बैठकमा नेपाल समूहका नेता डा. वियज पाैडेलले  आफूहरू सरकारमा सहभागी नहुने बताएका थिए।  पार्टी एकताका लागि प्रयासरत रहेकाले सरकारमा सहभागी हुने सम्भावना नभएको  बताएपछि तीन दलबीच भागवण्डा गरिएको हो। राष्ट्रिय जनमोर्चाले भने यसअघि नै सरकारमा नजाने बताइसकेको छ।

हाल सरकारमा गृह, अर्थ, ऊर्जा जलस्रोत तथा सिँचाइ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्री पाइसकेका छन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राज्यमन्त्री पाएको छ। गृह र कानुन मन्त्रालय आफैंसँग राखेको कांग्रेसले सञ्चारमन्त्रालय आफैं राख्ने तयारी गरेको छ।

माओवादीको भागमा ऊर्जा र अर्थ मन्त्रालय छ।  यस्तै जनता समाजवादी पार्टीलाई उपप्रधानमन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित  सरकारमा जाने तयारीमा छन्। सात/सातजना मन्त्री पाएका माओवादी र जसपाले थप एक.एकजना राज्यमन्त्री राख्न पाउनेछन् ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढाउन पाइँंदैन। अहिले सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत गरी चार मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *